Home Uncategorized महामारीले मुर्झाएको बजार-चलायमान भएन दशैं अर्थतन्त्र

महामारीले मुर्झाएको बजार-चलायमान भएन दशैं अर्थतन्त्र

by arthanews

नेपाली बजारमा सबैभन्दा बढी किनमेल र कारोबार हुने समय दशैं अगाडिलाई मानिन्छ। दशैं र तिहारलाई लक्षित गरेर उपभोग्य वस्तु तथा सेवाको आयात बढ्ने गर्छ भने व्यवसायीहरू साउनदेखि नै दशैं लक्षित कारोबार शुरु गर्छन्। लत्ताकपडासहितका व्यवसायीले पनि स्टक क्लियर गर्न यही वेला अफर ल्याएर ग्राहक आकर्षित गर्छन्। जसका कारण दशैं अर्थतन्त्र गुलजार हुने गर्छ। 

यो वर्ष भने कोरोनाभाइरस संक्रमण (कोभिड–१९) महामारीका कारण बजारमा कुनै चहलपहल देखिएको छैन। महामारीपछि लगाइएको नाकाबन्दी÷निषेधाज्ञाका कारण ६ महीनादेखि अर्थतन्त्र ठप्प छ। ७ साउनमा बन्दाबन्दी खुलेको तीन सातामै फेरि उपत्यकासहितका प्रमुख आर्थिक क्षेत्रमा १ असोजसम्मलाई लगाइएको निषेधाज्ञाका कारण अर्थतन्त्र चलायमान हुनै पाएन।यो वर्ष कोभिड–१९ ले पारेको असरकै कारण अर्थतन्त्र अहिलेसम्मकै कमजोर भएको र दशैं अर्थतन्त्र पनि प्रभावित भएको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा बताउँछन्। ‘‘कोभिडको असरका कारण बजार खुल्न पाएन, व्यापार व्यवसाय भएन र मजदूरको रोजगारी पनि गुमेका कारण यो वर्षको दशैं अर्थतन्त्र प्रभावित हुने नै भयो”, उनी भन्छन्, “असोजदेखि खुल्न थालेका बजारलाई साउनपछि आउने रेमिटेन्सले चलायमान बनाउने विश्वास भने गरिएको छ।’’ 

नेपालमा आउने रेमिटेन्स अहिलेसम्म नघटेकोले यो वर्षको दशैं अर्थतन्त्र ढिलो भए पनि चलायनमा हुने अपेक्षा गोल्छाको छ। उनका अनुसार, साउनदेखिको तीन महीनामा आउने रेमिटेन्सले अर्थतन्त्रको कारोबार बढाउन वा घटाउन निकै ठूलो भूमिका खेल्छ।
कोरोना महामारीपछि पनि रेमिटेन्स आप्रवाह खासै घटेको छैन। आर्थिक वर्ष २०७६÷७७ मा रु.८ खर्ब ७५ अर्ब ३ करोड रेमिटेन्स भित्रिएको थियो। यो तथ्यांक अघिल्लो वर्ष (रु.८ खर्ब ७९ अर्ब २७ करोड) को तुलनामा ०.५ प्रतिशत मात्रै कम हो। 

कोभिड–१९ को असरले अन्तर्राष्ट्रिय स्तरमै श्रम शक्तिको कटौती हुन थाले पनि असारसम्मको अवस्थामा आएको रेमिटेन्स सन्तोषजनक भएको नेपाल रेमिटेन्स एसोसिएसनका अध्यक्ष सुमन पोखरेल बताउँछन्। चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमास अर्थात् साउनदेखि असोजसम्म भित्रिएको रेमिटेन्स भने सार्वजनिक भएको छैन। गत वर्षको यो तीन महीनामा भने रेमिटेन्सबाट रु.२ खर्ब ३० खर्ब ३४ करोड भित्रिएको थियो। रेमिटेन्स निराशाजनक रुपले नघटेका कारण अर्थतन्त्र चलायमान बनाउन सहयोगी नै हुने व्यवसायीको बुझाइ छ। पोखरेल भने दशैंको वेला कम्तिमा रेमिटेन्स २५ प्रतिशत बढेर आउने गरेको विगतका वर्षहरुको ट्रेण्ड रहे पनि यो वर्ष भने असारपछि घट्न थालेको बताउँछन्। यसले यो वर्षको दशैंलाई प्रभावित पार्ने उनको बुझाइ छ।

दशैं–तिहारमा धेरै उत्पादनका लागि विशेष समय हुने भएकाले यही वेला व्यवसाय कम हुँदा समग्र अर्थतन्त्रमा प्रभाव पर्ने व्यावसायिक क्षेत्रका प्रतिनिधिहरू बताउँछन्। 

साना तथा मझौला व्यवसायीलाई मर्का

काठमाडौं महाबौद्धका होलसेल कपडा व्यापारी सरोज श्रेष्ठ व्यापारमा खासै उत्साह नदेखिएको बताउँछन्। नयाँ सामान आइनपुग्दा स्टकको सीमित सामान बिक्री गरेर बस्नुपरेको उनको गुनासो छ। “होलसेलको व्यापार नै नभएको चाहिं हैन, तर विगत वर्षमा जस्तो दशैंको मुखमा हुने उत्साहजनक व्यवसाय यसपाली छैन”, उनी भन्छन्। 

चीनबाट आउने सामान केरुङ नाकामा अड्किएको र पानीजहाजबाट आउनुपर्ने सामान पनि आइनपुगेका कारण स्टक सामान बिक्री गर्ने काम मात्र भएको श्रेष्ठ बताउँछन्। 

महाबौद्धकै जुत्ता चप्पलको होलसेल व्यापारी डबलकाजी श्रेष्ठका अनुसार, पसलमा भीडभाड गरेर व्यापार गर्ने अवस्था नभएकाले फोनबाट अर्डर लिएर काम गर्नुपर्दा थोरै कारोबार भएको छ। चिनेजानेका र नियमित खुद्रा व्यापारीलाई मात्रै सामान उपलब्ध गराएको उनको भनाइ छ। श्रेष्ठ भन्छन्, “नयाँ सामान नआएकाले पुरानै बिक्री गर्नुपरेको छ। तर, खुद्रा व्यापारमा नयाँ सामानको माग हुने हुँदा स्टक सामान तुलनात्मक रुपमा कम बिक्री भएको छ।”

साना व्यवसायीहरुको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल विगत वर्षमा साउनदेखि नै हुने दशैंको चहलपहल यो वर्ष भने कोरोना कहरकै कारण निकै कम भएको बताउँछन्। बजार नगर्माए पनि आशावादी रहेका उनी होलसेल व्यवसायमा भर्खर चहलपहल शुरु हुन थालेकाले खुद्रामा केही समयपछि माहौल तात्ने बताउँछन्। “दशैं नजिकिंदै जाँदा अत्यावश्यक सामानको व्यापार हुने आशा गर्न सकिन्छ”, उनी भन्छन्।

महासंघमा भोटेबहाल तयारी व्यापार, नेपाल जुत्ता चम्पल संघ, नेपाल व्यापार संघसहितका २१ वटा संस्थाका करीब १० हजार व्यवसायी आबद्ध छन्। यीमध्ये केही व्यवसायी भने टिक्न नसकेर व्यापारबाट विस्थापित भइसकेको अध्यक्ष कटुवाल बताउँछन्।

महासंघका अनुसार, साना तथा मझौला व्यवसायीको चीनबाट आएको करीब १२ सय ट्रक सामान केरुङ नाकामा अड्किएको छ। अर्थतन्त्र चलायमान बनाउन यो सामान ल्याउने पहल गर्न महासंघले सरकारसँग आग्रह गरे पनि करीब १० महीनादेखिको सामान अझै आइनपुगेको कटुवाल बताउँछन्। “सामान नआउने, कोभिडका कारण व्यापार नभएर भाडा तिर्न नसक्ने अवस्थामा पुगेका साना व्यवसायी ठूलो मारमा परेका छन्”, उनी भन्छन्।कालीमाटीमा जुत्ता–चप्पल र कपडाको व्यापार गर्ने सरिता बगाले दशैंको वेला व्यापार होला कि भन्ने आशाले सटर खोलेर बसे पनि खासै ग्राहक नआउने गरेको बताउँछिन्। चाडपर्व नजिकिए पनि महामारीले पारेको असरका कारण आफू जस्तै साना व्यवसायीमा कुनै उत्साह नभएको उनको भनाइ छ। 

एक त नयाँ सामान नै आएको छैन, अर्कातिर खुद्रा पसलमा आइपुग्ने गरिखाने वर्गका सर्वसाधारणले कोभिडका कारण खर्च कटौती गरेका कारण सामान्य अवस्थाको तुलनामा निकै कम व्यापार हुने गरेको छ”, उनी भन्छिन्।,

विगतका वर्षमा तीजमा सामान बेचेर नभ्याउँदै दशैंको माहोल शुरु हुने गरेको उनको अनुभव छ। “यो वर्ष भने न तीजमा माहोल आयो, न त दशैंमा नै चहलहल हुने छेकछन्द देखिएको छ।” 

अत्यावश्यक बाहेकका दशैं लक्षित कारोबार ठप्प

दशैंलाई लक्षित गरेर हुने लत्ताकपडा, विद्युतीय उपकरण, अटोमोबाइल्स, घरायसी सामानको खरीद–बिक्री सामान्य अवस्थामा भ्याइनभ्याइ हुने बेला हो, यो। तर, बजार चम्किनुपर्ने दशैंको किनमेलमा कोरोना कहरले गहिरो असर गरेको व्यवसायीहरू बताउँछन्। 

कोरोना संक्रमण रोकथामका लागि लगाइएको बन्दाबन्दीका कारण लामो समय सवारीसाधन, होटल व्यवसाय, पर्यटकीय सवारी बन्द भए। शिक्षण संस्थाहरू कहिले खुल्ने भन्ने टुंगो छैन। लामो दूरीका सार्वजनिक यातायात झन्डै ६ महीनापछि १ असोजबाट खुलेको छ। 

आवागमनमा लगाइएको रोकका कारण यातायात क्षेत्र नराम्ररी थलिंदा अटोमोबाइल्स व्यवसायमा असर परेको छ। गाडी खरीद गर्न सक्ने वर्ग पनि महामारीका कारण खर्च जोगाउनेतिर लाग्दा यो वर्ष सवारी खरीद–बिक्री ६ महीनासम्म ठप्प रहेको अटोमोबाइल्स व्यवसायीहरू बताउँछन्।

अटोमोबाइल्स व्यवसायीहरुको छाता संगठन नाडा अटोेमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलाल कोभिड–१९ ले समग्र क्षेत्रलाई ध्वस्त पारेकाले यो वर्ष दशैं लक्षित ठूलो कारोबार हुन नसक्ने बताउँछन्। नाडाले हरेक वर्ष दशैंअघि गर्ने ‘नाडा अटो शो’ यो वर्ष सरकारले सभा–सम्मेलन लगायत कार्यक्रम नगर्नु भनेकाले गरेन। 

गाडीहरूको यो मेला मार्फत अघिल्ला वर्षमा मोटरसाइकल र चारपाङ्ग्रे गाडीको बिक्रीबाट करीब रु.५ अर्बको कारोबार हुने गथ्र्यो। यस्तै, वर्षभरि हुने कारोबारभन्दा दशैं–तिहार आसपासका चार महीनामा धेरै कारोबार हुने गरेको दुलाल बताउँछन्। अटोमोबाइल्स क्षेत्रले सरकारलाई वार्षिक रु.१ खर्ब राजश्व बुझाउने गरेकोमा यस वर्ष व्यापार नै नभएपछि राजश्व पनि प्रभावित हुने भएको छ। 

यो वर्ष अहिलेसम्म कारोबार सुस्त भए पनि अब विस्तारै चलायमान हुने अपेक्षा दुलालको छ। उनी भन्छन्, “अब बजार बन्द नगर्ने र सबै क्षेत्रलाई सुचारु हुन दिने हो भने दुई महीनामा नै व्यापार–व्यवसाय सामान्य रुपमा अगाडि बढ्छ।” 

ग्राहक आकर्षित गर्न ‘अफर’

उत्पादनको बिक्री बढाउन केही क्षेत्रका व्यवसायीले विभिन्न ‘अफर’ ल्याएर ग्राहक आकर्षित गर्ने प्रयास थालेका छन्। अटोमोबाइल व्यवसायीले दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनको बजार बढाउन यस्तो अफर ल्याएका छन्। मोटरसाइकल बिक्रेताहरूले कोभिडपछिको अर्थतन्त्र चलायमान बनाउनकै लागि नगद छुटदेखि उपहारसम्मको योजना धमाधम अगाडि सार्दैछन्।

यस्तै, ट्राभल तथा टुरको माहोल बढाउन र आन्तरिक पर्यटन चलायमान बनाउन यती र बुद्ध एयरले प्याकेज सार्वजनिक गर्न थालेका छन्।कतिपय क्षेत्रले भने दशैंको महीना भए पनि भर्खर बजार खुलेका कारण रणनीति बनाउनेदेखि ग्राहकको इच्छालाई बुझ्ने प्रयास गरिरहेका छन्। 

कम्युटर एशोसिएसन अफ नेपाल (क्यान) का अध्यक्ष नवराज कुँवर सबैभन्दा बढी प्रयोग हुने र अफर आउने क्षेत्र सूचना–प्रविधि भए पनि यो वर्ष भने माग नै पूरा गर्न नसकेका कारण अफर आवश्यक नभएको बताउँछन्। महामारीका कारण अन्य क्षेत्र सुस्ताए पनि बन्दाबन्दीको घर बसाइ र घरबाटै काम गर्ने अभ्यासले इमेल–इन्टरनेटको प्रयोग बढ्दा सूचना–प्रविधिको क्षेत्रमा अवसर सिर्जना भएको छ। अहिलेकै अवस्थामा नयाँ प्रयोगकर्ताको संख्या बढेर सेवा दिन भ्याइनभ्याइ भएकाले ग्राहक आकर्षण गर्नुपर्ने अवस्था नरहेको कुँवरको भनाइ छ। 

नेपाल इलेक्ट्रिकल उद्यमी महासंघका अध्यक्ष सुदर्शनप्रसाद फुयाल बजार विस्तारै लयमा आउन थालेको बताउँछन्। दशैंको मुखमा बजार खुलेकोले व्यवसायीले आवश्यक तयारी गर्न नभ्याएको तर्क गर्ने उनी छोटो तयारी गरेर अफर ल्याए प्रभावकारी सेवा दिन नसकिने बताउँछन्। 

वैदेशिक व्यापार संघका अध्यक्ष सुनीलकुमार धनुका बजार विस्तारै चलायमान हुन थाले पनि महँगी बढेको र उपभोक्तालाई आकर्षित हुने सामान पनि नआएका कारण व्यापारमा कठिनाइ रहेको बताउँछन्। उनी भन्छन्, “बजारको माग एक प्रकारको हुन्छ, अर्कातिर व्यवसायीको सामान आउन सकेको छैन।” उनका अनुसार, केरुङमा नेपाली व्यवसायीका रु.२० अर्ब बराबरको गर्मीका सामान अड्किएका छन्। तर, अहिले बजारले जाडोको सामान माग्ने बेला भैसकेकोले व्यवस्थापन मिलाएर सामान ल्याउन समस्या भएको धनुका बताउँछन्। 

एआरजी इन्डस्ट्रीका प्रबन्ध निर्देशक विशाल अग्रवाल ग्राहक तान्ने अफर ल्याउन प्रशस्त समय चाहिने र यसपाली कोभिडका कारण भर्खरै बजार खुलेका कारण अफर ल्याउने तयारीमा लाग्दा दशैं आइसक्ने बताउँछन्। “अफर ल्याएर त्यसको प्रभावकारी कार्यान्वयन हुने देखिंदैन, अर्कातिर कोभिड–१९ महामारीले घाटा बढाएकोले चुपचाप बस्नुपरेको छ”, उनी भन्छन्।

हिमाल खबर बाट साभार
तस्वीरहरु: बिक्रम राई

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More