Home पर्यटन कर्मचारीलाई बेतलवी विदामा राखेपछि ‘याक एन्ड यति’मा लफडा, विवाद श्रम कार्यालयमा पुग्यो

कर्मचारीलाई बेतलवी विदामा राखेपछि ‘याक एन्ड यति’मा लफडा, विवाद श्रम कार्यालयमा पुग्यो

by arthanews

कोरोनाभाइरस संक्रमणले हरेक क्षेत्रलाई जस्तै होटेल व्यवसायलाई पनि धरापमा पारेको छ । कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि चालिएका कदमले सबै क्षेत्रलाई बन्द बनायो । आर्थिक कारोबार ठप्प भए । तर, यसैलाई बाहना बनाउँदै कर्मचारीलाई निकाल्ने, बेतलवी बिदामा राख्ने, पारिश्रमिक नदिने जस्ता घटना सबै क्षेत्रमा भएको देखिन्छ । रोजगारदाता र कर्मचारीबीच विवाद बढिरहेको देखिन थालेको छ ।

यस्तै समस्या काठमाडौंको दरबारमार्गमा रहेको पाँचतारे होटेल ‘याक एण्ड यति’मा पनि देखापरेको छ । जबरजस्ती बेतलबी विदामा राखेको, सेवा सुविधा नपाएको भन्दै उक्त होटेलका म्यानेजर तहका कर्मचारी श्रम विभागमा पुगेका छन् ।

जबरजस्ती १७ जना म्यानेजर तहका कर्मचारीलाई बेतलबी विदामा राखेको छ’, एक पीडित म्यानेजरले भने, ‘यसबारे एचआरसँग कुरा गर्दा व्यवस्थापनको निर्णय भएकाले आफूले केही गर्न नसक्ने जवाफ दिए ।’

लकडाउन सुरु भएको केही दिनमै इमेलमार्फत आफूहरुलाई डिसेम्बरसम्मका लागि बेतलबी विदामा राखेको जानकारी दिएको भन्दै उनले आफूहरुको समस्या समाधान गर्न व्यवस्थापनले चासो नदेखाएपछि श्रम कार्यालयमा उजुरी दिएको जानकारी दिए ।

श्रम विभागमा उजुरी परेसँगै व्यवस्थापनसँग छलफल हुने वातावरण बनेको उनले जानकारी दिए । उनकाअनुसार भोलि (सोमबार) छलफलका लागि बोलाइएको छ ।

भारतीय व्यवसायी राधेश्याम सर्राफ अध्यक्ष तथा उनका छोरा अरुणकुमार सर्राफ कार्यकारी निर्देशक रहेको सो होटेलले गत मार्चदेखि डिसेम्बरसम्म जबर्जस्ती बेतलबी बिदा बस्न इमेलमार्फत पत्राचार गरेपछि उत्पन्न विवाद श्रम कार्यालयमा पुगेको हो ।

याक एन्ड यतिमा न्यूनतम १२ देखि अधिकतम ३५ वर्षदेखि काम गरिरहेका म्यानेजरहरू कुमारीदेवी धमला, दिवस श्रेष्ठ, जेनिसन श्रेष्ठ, चिनियाँकाजी श्रेष्ठ, सन्तोष दाहाल, ध्रुव रुपाखेती, एएस प्रविण, दिनेश व्यञ्जनकार, ज्ञानेश्वर पौडेल, मनोज खड्का, कृष्णबहादुर शर्मा, उमेशप्रसाद देव, सञ्जय यादव, लेखारानी सिंह भट्टराई, राजन जोशी, हर्षबहादुर रायमाझी र दिना शाक्यले आफूहरुमाथि अन्याय भएको भन्दै श्रम कार्यालयसहितका सरकारी निकायमा निवदेन दिएका छन् ।

साथै कर्मचारीको माग र समस्याबारे होटेल प्रशासनले हालसम्म सार्वजनिक रुपमा कुनै जानकारी गराएको छैन ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More