चितवन राष्ट्रिय निकुन्ज पश्चिम सेक्टर अमलटारीको दादागिरीले अमलटारी दिनभरी तनाब भएकोछ । नारायणी नदीमा माछा मार्न गएका ३२ जना स्थानीय बोटे, मुसहर, थारुलाई मङ्सिर ६ गते निकुन्ज प्रशासनको सेनाले पक्राउ गरेपछि स्थानीय आक्रोसित बनेका हुन् ।सेनाले स्थानीयलाई ६ गते पक्राउ गरेर पश्चिम सेक्टरको कार्यालयमा बुझाएको थियो ।
प्रशासनले रातभर राखेर ७ गते चितवन राष्ट्रिय निकुन्जको मुख्य कार्यालय कसरा लाने भनेर तयारी गरिरहेको थाहा पाएर स्थानीय जम्मा भई प्रशासन संग पक्राउ परेकालाई रिहाई गरिदिन आग्रह गरेका थिए तर प्रसासनले कसरा पुर्याउने अडान लिएपछि स्थानीयले प्रशासन गेटभित्र प्रवेश गरेर पक्राउ परेकालाई त्यहाँबाट भगाउन सफल भएका थिए ।
स्थानीय त्यहाँबाट तितरबितर भएसंगै आक्रोसित प्रशासनले सेना प्रयोग गरि खोलामा राखिएको करिब २० वटा डुंगा तोडफोड गरि पूर्णरुपमा क्षति पुर्याएका थिए । नारायणी नदि किनारमा राखिएका लाइसेन्स भएको डुंगाहरु पिठौली घाट, देखि नन्दपुरसम्म त्यति संख्यामा डुंगा तोडफोड गरेको स्थानीयले इजीखबरलाई बताएका छन् ।
प्रशासनले आफ्नो डुंगा फुटालेको थाहा भएपछि ८ गते बिहानैदेखि राति अबेरसम्म सयौंको संख्यामा स्थानीयहरू प्रशासनमा जम्मा भई नारावाजी गर्दै कार्यालय घेराउ गरेका छन् । कार्यालय घेराउको क्रममा पटकपटक प्रहरीसंग झडपको स्थित पैदा भएको थियो ।