Home फिचर सिन्धुपाल्चोकमा प्रधानमन्त्री रोजगार कार्यक्रम : १२ पालिकाले पाए साढे १९ करोडभन्दा बढी अनुदान

सिन्धुपाल्चोकमा प्रधानमन्त्री रोजगार कार्यक्रम : १२ पालिकाले पाए साढे १९ करोडभन्दा बढी अनुदान

by अर्थन्यूज

सिन्धुपाल्चोक – प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सिन्धुपाल्चोकका तीन नगरपालिकासहित नौ गाउँपालिकाले १९ करोड ७१ लाख ४१ हजार रुपैयाँ ससर्त अनुदान प्राप्तका छन् ।
प्राप्त अनुदानबाट जिल्लाका ३ हजार ८ सय १२ जनाले सय दिनको रोजगारी प्राप्त गर्नेछन् । गत मंसिर १५ गतेसम्म रोजगार व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) मा बेरोजगार व्यक्तिको विवरण प्रविष्ट गरेको आधारमा अनुदान प्रदान गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

कुन स्थानीय तहमा कति बेरोजगार छन्, त्यहीअनुसार अनुदान बाँडिएको प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक सुमन घिमिरेले बताए ।

जिल्लाभरबाट १५ हजार २ सय २४ जनाले बेरोजगारको सूचीमा नाम सूचीकृत गराएका थिए । तीमध्ये ३ हजार ८ सय १२ जनाले मात्र १ सय दिनको रोजगारी प्राप्त गर्नेछन् ।
‘हामीले कार्यविधि बनाएरै रोजगारी प्रदान गछौं’, निर्देशक घिमिरेले भने, ‘सूचीकृत भएका सबैले यस पटक रोजगारी पाउँछन् भन्ने छैन ।’ यो वर्ष रोजगारी नपाउनेहरूले अर्को वर्ष पाउने उनले जानकारी दिए ।

जिल्लाका १२ पालिकामध्ये सबैभन्दा बढी सुनकोसी गाउँपालिकाले अनुदान पाएको छ । सुनकोसीलाई दुई करोड ३६ लाख ३२ हजार अनुदान दिइएको छ । सो पालिकाका चार सय ५७ जनाले रोजगारी पाउनेछन् । पालिकाका दुई हजार ३१ जनाले बेरोजगारको सूचीमा नाम सूचीकृत गरेका थिए ।

यस्तै, सबैभन्दा कम भोटेकोसी गाउँपालिकामा ५१ लाख ७५ हजार अनुदान प्राप्त भएको छ । सो पालिकाबाट सात जनाले मात्रै बेरोजगारको सूचीमा नाम सूचीकृत गरेका थिए ।

चौतारा साँगाचोकगढी नगरपालिकाले दुई  करोड ३१ लाख ६७ हजार, लिसंखुपाखर गाउँपालिकाले दुई करोड १३ लाख ५८ हजार, इन्द्रावती गाउँपालिकाले दुई करोड ३ लाख २४ हजार, बलेफी गाउँपालिकाले दुई करोड एक लाख ६८ हजार, पाँचपोखरी थाङ्पाल गाउँपालिकाले एक करोड ८८ लाख ७६ हजार, बाह्रबिसे नगरपालिकाले एक करोड ४७ लाख ४० हजार, मेलम्ची नगरपालिकाले एक करोड ३५ लाख ५१ हजार, त्रिपुरासुन्दरी गाउँपालिकाले एक करोड २६ लाख २० हजार, जुगल गाउँपालिकाले एक करोड १९ लाख ४८ हजार र हेलम्बु गाउँपालिकाले एक करोड १५ लाख ८६ हजार हजार रुपैयाँ ससर्त अनुदान पाएका छन् ।

‘हामीलाई यो वर्षको काम गर्न अख्तियारी आइसकेको छ’, गाउँपालिका महासंघ अध्यक्षसमेत रहेका जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले भने, ‘अब छिट्टै रोजगारको कार्यक्रम सुरु गर्छौं ।’ श्रम मन्त्रालयले जारी गरेको कार्यविधिअनुरुप नै रोजगारीमा खटाउन तयारी थालिएको उनले बताए ।

ससर्त अनुदानको रूपमा प्राप्त रकम श्रमिकको ज्यालामा मात्रै खर्च गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत श्रम मन्त्रालयले पालिकालाई निर्देशन दिएको छ । श्रमिकको ज्याला न्यूनतम पारिश्रमिक पाँच सय १७ रुपैयाँ तोकिएको छ । यस्तै, ईएमआईएसमा सूचीकृत बेरोजगारलाई लाभग्राही परिचयपत्र जारी गरेर मात्रै काममा खटाउनसमेत मन्त्रालयले पालिकालाई निर्देशन दिएको छ ।

श्रोतः अभियान दैनिक

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More