काठमाडौं – धितोपत्र दोस्रो बजारले गति लिन थालेसँगै प्राथमिक बजारमा पनि यसको सकारात्मक प्रभाव परेको छ ।
पछिल्लो समय प्राथमिक बजारमा निष्कासनमा आएका शेयरमा करीब ११ लाख लगानीकर्ताहरुले आवेदन दिएको तथ्यांक छ । धितोपत्र कारोबारमा डिम्याट खाता अनिवार्य भएसँगै हाल यो खाताको संख्या २४ लाख नाघेको छ ।
पुस २६ गतेसम्म सिडिएस एण्ड क्लियरिङ लिमिटेडले उपलब्ध गराएको तथ्यांक अनुसार २४ लाख २८ हजार ३३४ हितग्राही खाता खुलेका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रबक्ता सुरेश न्यौपानेले पछिल्लो समय दैनिक १५ हजारभन्दा बढी डिम्याट खाता खुल्ने गरेको जानकारी दिए ।
यतिवेला भने प्राथमिक बजारमा सबै आवेदकको भाग पुग्ने पक्का रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओलाई लक्षित गर्दै डिम्याट खाता खुलेको देखिन्छ । उक्त कम्पनीले माघ २ गतेदेखि हालसम्मकै सर्वाधिक रू. ८ अर्ब बराबरको ८ करोड कित्ता आईपीओ विक्री खुला गर्ने भएको हो ।
सार्वजनिक निष्कासनमा बाँडफाँटको पछिल्लो व्यवस्थाले पनि डिम्याट खाताको संख्या बढेको देखिन्छ । हाल सबै आवेदकलाई न्यूनतम १० कित्ता बाँडफाँटको व्यवस्थाले एकै व्यक्तिले बढी रकमको आवेदन दिनुभन्दा धेरै जनाले आवेदन दिदाँ शेयर पर्ने भएकाले डिम्याटको संख्या बढ्न पुगेको हो ।
पूर्णप्रविधिमैत्री बनेको धितोपत्र प्राथमिक तथा दोस्रो बजारमा लगानी गर्न सहज वातावरण बनेकाले पनि पछिल्लो समय लगानीकर्ताको प्रवेश बढ्दो क्रममा रहेको छ ।
आईपीओ भर्न मात्र हैन धितोपत्र दोस्रो बजारमा शेयर खरीदविक्री गर्न पनि डिम्याट अनिवार्यनै छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण देशका समग्र आर्थिक क्षेत्र प्रभावित बन्दा नेपालको शेयरबजारले भने कोरोनाकै बीच आफ्नो आकार फराकिलो बनाएको छ ।
हाल धितोपत्र दोस्रो बजारको आकार साढे २९ खर्बबढीको रहेको छ । कोरोनाका विच पनि सकारात्मक गति लिएका कारण पछिल्लो समय शेयर बजारलाई सुरक्षित लगानीको क्षेत्रका रुपमा पनि विश्लेषण गर्न थालिएको छ ।
डर र लोभलाई हटाएर यो क्षेत्रमा लगानी बढाएर अल्पकालिन तथा दिर्घकालिन रुपमा नाफा कमाउन सकिने विश्वास लगानीकर्ताहरुको छ । लगानीकर्ताहरुको यहि विश्वास र मनोबलका कारणनै बजारले गति लिंदै ऐतिहासिक रेकर्ड कायम गर्दै अघि बढेको छ ।
श्रोतः अभियान दैनिक