निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारविरुद्ध रिट दायर गरेको छ । आयकर ऐनको दफा ५७ को व्यवस्थाअनुसार कर निर्धारण गर्न लागेको भन्दै एनसेलले सरकार विरुद्ध रिट दायर गरेको हो।
एनसेलको तर्फबाट रमेश घिमिरेले अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्। एनसेलले दायर गरेको रिट सुनुवाईका लागि न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलाशमा तोकिएको थियो।
एनसेलको स्वामित्व परिवर्तनमा कर लाग्ने भन्दै ठूला करदाता कार्यालयले एनसेलमाथि ६० अर्ब रूपैयाँ कर निर्धारण गरेको थियो । एनसेलको स्वामित्व परिवर्तनमा लाग्ने पुँजीगत लाभकरको विवाद सर्वोच्चबाटै टुंगिएका बेला अर्को मुद्दा फेरि अदालत प्रवेश गरेको छ।
सर्वोच्चले २९ गतेसम्ममा अन्तरिम आदेश नदिए एनसेलमाथि ६० अर्ब रूपैयाँ कर निर्धारणको पत्र जानेछ। ठूला करदाता कार्यालयले प्रारम्भिक सूचना दिएपछि त्यसको जवाफ दिनुको सट्टा एनसेल रिटमा गएको हो।