Home खेलकुद पोखरा अन्तरराष्ट्रिय म्याराथन फागुन १ मा

पोखरा अन्तरराष्ट्रिय म्याराथन फागुन १ मा

by अर्थन्यूज

कास्की – भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा आयोजना गर्दै आएको ‘सफल पोखरा अन्तरराष्ट्रिय म्याराथन’को १५औं संस्करण आगामी फागुन १ गते हुने भएको छ । म्याराथनको विजेताले रू. २ लाख तथा द्वितीयले रू. १ लाख, तृतीयले रू. ७५ हजार र सान्त्वनाले रू. २५ हजार पुरस्कार प्राप्त गर्ने मञ्चले सोमवार पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएको हो ।

सुन्दर पर्यटकीय नगरी पोखरालाई खेलकुदको विश्व मानचित्रमा स्थापित गराई खेलकुद पर्यटन प्रवद्र्धनका लागि म्याराथनलाई यस वर्ष पनि निरन्तरता दिइएको आयोजकको भनाइ छ ।

यस वर्षदेखि महिलाका लागि २१ किमी (हाफ म्याराथन) पोखरा म्याराथनमा समावेश गरिएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । हाफ म्याराथनमा प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः रू. १ लाख, ७५ हजार, ५० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

नेपाली खेलकुदमा महिला खेलाडीको भूमिकासँगै महिलालाई खेलतर्फ आकर्षण गर्न र उनीहरूको प्रतिभा उजागर गर्न हाफ म्याराथनको महत्त्वपूर्ण भूमिका हुने उनको विश्वास छ । गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरसँग भगिनी सम्बन्ध कायम भएका चीन, जापान, बेलायतलगायत विश्वका अन्य मुलुकका खेलाडीलाई म्याराथनमा सहभागी गराउन प्रयास भइरहेको अध्यक्ष गुरुङले जानकारी दिए ।

कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखेर अन्य विभिन्न इभेन्टलाई फरक फरक मितिमा आयोजना गरिने भएको छ, जसअन्तर्गत ह्विलचियर दौड महिला र पुरुष तथा दृष्टिविहीन दौड फागुन २२ गते हुनेछ । यसैगरी १० किमी महिला÷पुरुष दौड आगामी चैत १४ गते र पाँच किमी छात्र÷छात्रा दौड आगामी वैशाख ४ गते सञ्चालन गरिने आयोजकले बताएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More