काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधवार दुई ओटा विकास बैंकको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले ज्योति विकास बैंक र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन गरेको हो ।
ज्योति विकास बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ र नारायणी डेभलपमेन्ट बैंकले हकप्रद निष्कासन प्रयोजनार्थ बुधवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले ज्योति विकास बैंकको १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. २१९ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात मंगलवार कायम अन्तिम शेयरमूल्य रू. २४१ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले माघ १४ गते साधारण सभा बोलाएको छ । सभा त्रिभुुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बोलाइएको हो ।
त्यस्तै, नेप्सेले नारायणी डेभलपमेन्ट बैंकको १०० प्रतिशत हकप्रद शेयरको समायोजन गरी शेयरमूल्य रू. ४६५ तोकेको छ । मंगलवार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ८२९ मा अन्तिम कारोबार भएको थियो ।
कम्पनीले माघ १३ गतेदेखि ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ ।