Home कर्पोरेट अर्थतन्त्रको विकास नै राजनीतिको मूल उद्देश्य हुनुपर्ने

अर्थतन्त्रको विकास नै राजनीतिको मूल उद्देश्य हुनुपर्ने

by अर्थन्यूज

वीरगञ्ज – आर्थिक विकास र समृद्धिको एजेण्डालाई राजनीतिको केन्द्रीय उद्देश्यमा राख्न निजीक्षेत्रले आग्रह गरेको छ । नेपाल–भारत सोसियो इकोनोमिक फोरमले मंगलवार वीरगञ्जमा आयोजना गरेको अन्तरक्रियामा सहभागी उद्यमी व्यवसायीले अर्थतन्त्रको विकास नै राजनीतिको मूल उद्देश्य हुनुपर्ने बताएका हुन् ।

अहिले देखापरेको राजनीतिक अन्योलका कारण निजीक्षेत्र सशंकित बनेको उद्यमीहरूले बताएका छन् । राजनीतिकर्मीहरू आर्थिक विकासका एजेण्डामा एकमत नहुँदा अर्थतन्त्र उल्टो गतितिर उन्मुख भएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।

फोरमका अध्यक्ष अशोककुमार टेमानीले आर्थिक विकासका सम्भाव्यता सीमाञ्चलमा भए पनि पूर्वाधारहरू अपायक क्षेत्रमा विस्तार भइरहेको बताए । सरकार र कर्मचारीतन्त्रले आर्थिक विकासको सम्भाव्यतामा अगाडि देखिएका दक्षिणी सीमाक्षेत्रलाई ओझेलमा पार्ने काम गरेको आरोप टेमानीले लगाए ।

अन्तरक्रियामा पूर्वउपप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका प्रमुख कार्यकारी अध्यक्ष उपेन्द्र यादवले राजनीति र अर्थतन्त्र एकअर्काका पूरक भएको बताए । राजनीतिको मूल अभिप्राय आर्थिक विकास नै भएको दाबी गर्दै यादवले आथिर्क विकास र स्थायित्वका लागि राजनीतिक स्थिरताको आवश्यक पर्ने औंल्याए ।

अहिले देखापरेको राजनीतिक अस्थिरताको संकेतले आर्थिक सरोकारहरू स्वाभाविक रूपमा अन्योलमा परेको अध्यक्ष यादवको भनाइ थियो । ‘स्वदेशी लगानी सुरक्षित नभएसम्म बाहिरको लगानी आउँदैन । लगानीकर्तामैत्री नीति भएमात्र आर्थिक विकास र समृद्धिको बाटो सहज हुन सक्दछ,’ उनले भने ।

लगानी भित्र्याउन विगतमा पटकपटक लगानी सम्मेलन गरिए पनि स्वदेशका लगानीकर्ताको मनोविज्ञान बलियो नभएकाले बाहिरका लगानीकर्ता आउन हच्किएको यादवले बताए । नीति निर्माणको तहमा कर्मचारीतन्त्र हाबी भएकाले लगानीमैत्री कानून आउन नसकेको उनको भनाइ छ ।

लगानीमैत्री नीति र विकासको अवसरका लागि संघीयता बलियो हुनुपर्ने धारणा यादवको थियो । वर्तमान सरकार संघीयता सिध्याउन लागिपरेको आरोप उनले लगाए । अन्तरक्रियामा
वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गणेश लाठले नियम कानूनका छिद्र भ्रष्टाचारको आधार बनेको टिप्पणी गरे ।

सरकारले पछिल्लो समयमा ल्याएका कानूनमा राखिएको स्वविवेकीय अधिकारले भ्रष्टाचारलाई बढाएको टिप्पणी लाठको थियो ।

संघका पूर्वअध्यक्ष प्रदीप केडिया, महासचिव माधव राजपाल, फोरमका उपाध्यक्ष प्रकाश खण्डेलवाल, पूर्व सहप्राध्यापक इन्दुशेखर मिश्रलगायतले आर्थिक विकास र समृद्धिका लागि लगानीमैत्री नीतिको खाँचो औंल्याए ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More