काठमाडौं – यातायात व्यवस्था विभागले सवारी लाइसेन्स आवेदनमा लगाएको सीमा हटाएको छ । विभागले यसअघि दैनिक ५ हजारले मात्र लाइसेन्सका लागि आवेदन भर्न मिल्ने सीमा तोकेकोमा उक्त सीमा हटाएको हो ।
कोभिड महामारीका कारण गत चैतदेखि बन्द सवारीचालक अनुमति पत्र (लाइसेन्स)का लागि आवेदन खुला भए पनि सीमा तोकिएपछि आवेदन भर्नै समस्या भएको गुनासो सेवाग्राहीबाट आउन थालेको थियो । लाइसेन्सका लागि आवेदन भर्दा समस्या नहोस् भनेर निश्चित सीमा हटाइएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।
‘धेरैपछि आवेदन खुला गरिएकोमा सेवाग्राहीको चापका कारण साइटमै समस्या देखिएको थियो,’ उनले भने, ‘साइट अपग्रेड गरेर जतिले पनि आवेदन भर्न सक्ने बनाएका छौं ।’
विभागको सर्भरमा देखिएको समस्याका कारण फारम भर्न समस्या आएको थियो । विभागको सर्भर नै नखुल्ने, खुले पनि फारम भरिसकेपछि आवेदन अप्लाई नहुने जस्ता समस्या देखिएको थियो ।
दैनिक निश्चित कोटा निर्धारण गरिएकाले कोटा सकिँदा सेवाग्राहीले आवेदन फारम भर्न नपाएको विभागले बताएको थियो । गुनासो बढेपछि उक्त समस्या समाधानका लागि निश्चित कोटा प्रणाली हटाइएको विभागले बताएको छ ।
हाल विभागले अहिले बिहान ६ बजेदेखि राति १० बजेसम्म आवेदन भर्न मिल्ने व्यवस्था गरेको छ । यद्यपि, विभागले आइतवारदेखि बुधवारसम्म मात्र लाइसेन्सका लागि आवेदन खुला गरिएको छ । सेवाग्राहीले फारम भरेर ‘सबमिट’ गरेपछि प्राप्त आवेदनका आधारमा कार्यालयले परीक्षाको मिति तोकेर जानकारी दिने विभागका महानिर्देशक हमालले बताए ।