Home बजार बुक बिल्डिङ्ग विधिबाट शेयर जारी गर्न सिमेन्ट कम्पनीहरु तयार

बुक बिल्डिङ्ग विधिबाट शेयर जारी गर्न सिमेन्ट कम्पनीहरु तयार

by अर्थन्यूज

काठमाडौं – सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले पनि प्रिमियम मूल्यमा प्राथामिक शेयर (आईपीओ) जारी गर्ने भएको छ ।

सरकारले पूँजीबजारमा रहेको बैंक तथा वित्तीय संस्थाहरुको उच्च हिस्सा घटाएर वास्तविक क्षेत्रका कम्पनीहरुलाई भित्र्याउनका लागि बजेट मार्फत कर छुट सुविधा दिने नीति लिएपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डले सो नीति कार्यान्वयन गर्दै बुक बिल्डिङ विधिबाट प्रिमियम मूल्यमा शेयर जारी गर्नसक्ने व्यवस्था गरेको छ ।

बोर्डले गत साता (पुस २३ गते) बुक बिल्डिङ विधिबाट शेयर जारी गर्न ४६ वटा संस्थागत लगानीकर्ता छनौट गरेपछि वास्तविक क्षेत्रका कम्पनीहरु पनि बुक बिल्डिङ्ग विधिबाट शेयर जारी गर्न तयार भएका हुन् । यस प्रकृयाबाट शेयर जारी गर्न सिमेन्ट कम्पनीहरु अगाडि देखिएका हुन् ।

केही दिन पहिला मात्रै सर्वोत्तम सिमेन्ट लिमिटेडले माघ ६ गते डाकेको दोस्रो वार्षिक साधारण सभामा धितोपत्रको प्रारम्भिक निष्काशन बुक बिल्डिङ विधिबाट गर्ने विशेष प्रस्ताव लैजाने प्रस्ताव राखेकोमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले पनि यस्तो प्रस्ताव साधारण सभामा लैजान लागेको हो ।

सोनापुरले प्रिमियम मूल्यमा आईपिओ जारी गर्ने विशेष प्रस्ताव सहित माघ २२ गते बिहीबार बत्तीसपुतली स्थित आफ्नै कार्यालयमा बिहान ११ बजे १३ औं वार्षिक साधारण सभा बोलाएको छ ।

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड पश्चिम नेपालमा सबैभन्दा धेरै सिमेन्ट उत्पादन गर्ने कम्पनी हो । दाङमा उद्योग रहेको कम्पनीले आधा दर्जन ब्राण्डका सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीले सोना सिमेन्ट, सोना टेक सिमेन्ट सोना श्री सिमेन्ट लगायत ब्राण्डका सिमेन्ट उत्पादन गर्दै आएको छ ।

सभामा प्रिमियम मूल्यमा शेयर जारी गर्नका लागि प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, आर्थिक वर्ष २०७६।७७ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण सञ्चालकको निर्वाचन र बैठक भत्ता लगायतका प्रस्ताव पेश गर्ने एजेण्डा राखिएको छ ।

सिमेन्ट कम्पनीहरुमा शिवम् सिमेन्टले पहिलो पटक प्रिमियम मूल्यमा शेयर जारी गरेको थियो । शिवमको सिमेन्टको शेयर बजारमा कायम भएको शेयरमूल्य र लगानीकर्ताको आकर्षणले अन्य सिमेन्ट कम्पनीहरुलाई पनि पब्लिक कम्पनीमा रुपान्तरण भई सर्वसाधारणमा शेयर जारी गर्न तयार भएका हुन् । बैंक ऋणबाट मात्र स्रोत परिचालन गरी उद्योग सञ्चालक गर्दै आएका कम्पनीहरुमा अब भने सर्वसाधारणमा शेयर जारी गरेर पूँजी जुटाउनतर्फ कम्पनीहरुको ध्यान जान थालेको हो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More