Home पर्यटन दूरविन अभावमा नेपालको पहिलो भ्यूटावर चार महीनादेखि बन्द

दूरविन अभावमा नेपालको पहिलो भ्यूटावर चार महीनादेखि बन्द

by रासस

मकवानपुर – मकवानपुरको दामनमा रहेको शीतल भ्यूटावर अहिले बन्द छ । गत असोजदेखि भ्यूटावर पूर्णरूपमा बन्द रहेको दामन बजार व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष टासी शेर्पाले जानकारी दिए ।

कोभिड–१९ का कारण लकडाउन घोषणा भएयता भ्यूटावरमा आउने पर्यटकको संख्या कमी हुँदै गएको थियो । लकडाउन खुकुलो भएसँगै विस्तारै पर्यटकको संख्या वृद्धि हुन थाले पनि भ्यूटावरमा रहेका दूरविनमा समस्या भएको जनाउँदै ग्राहकले व्यापक गुनासो गर्न थालेपछि भ्यूटावर व्यवस्थापनले टावर बन्द गरेको हो । भ्यूटावरसँगै सञ्चालनमा रहेको रिसोर्ट पनि बन्द भएको छ ।

दामन भ्यूटावर एण्ड रिसोर्टका सञ्चालक प्रकाश होटल इन्टरनेश्नलका प्रतिनिधि भरत गोपालीले भ्यूटावरमा नयाँ दूरविन राख्न र टावर मर्मत गर्न नगरपालिकालाई पटक–पटक अनुरोध गर्दा पनि समस्या समाधान नभएकाले टावर बन्द गर्नुपरेको जानकारी दिए  । थाहा नगरपालिकाले दामन भ्यूटावर र रिसोर्ट दुवै सञ्चालन गर्ने गरी विसं २०७५ कात्तिक १५ गते प्रकाश होटल इन्टरनेशनललाई पाँच वर्षका लागि ठेक्कामा दिएको थियो । 

कुल रू. ४७ लाख ६३ हजारमा ठेक्कामा लिएकामा नगरपालिकाले नयाँ दूरविन उपलब्ध नगराएको, अन्य पूर्वाधार निर्माणमा पनि सहयोग नगरेको र कोभिड–१९ का कारण चल्न नसकेको जनाउँदै सो इन्टरनेश्नलले सम्झौतामा पुनःविचार गर्न माग गर्दै आएको छ ।

विसं २०२१ मा तत्कालीन राजा महेन्द्रले रानी इन्द्र राज्य लक्ष्मीको आग्रहमा भ्यूटावरको निर्माण गरेका थिए । नेपालकै पहिलो भ्यूटावर टावरको रूपमा रहेको भ्यूटावरको नाम शीतल भ्यूटावर राखिएको थियो । थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टले समेत होटल सञ्चालन गरेका भ्यूटावरमा दुई शक्तिशाली दूरविन राखिएका थिए । दूरविनबाट विश्वको सर्वोच्च शिखर सगरमाथासहित दर्जन बढी हिमशृंखला नजिकै देख्न सकिन्थ्यो । 

थाहा होटल एशोसिएशनका अध्यक्ष शिवकुमार खत्री भ्यूटावरमा रहेको दूरविन करीब एक दशकदेखि नै काम नलाग्ने अवस्थामा रहेको जानकारी दिए । शुरुमा पर्यटन विभागको मातहतमा रहेको टावर डेढ दशकअघिदेखि जिल्ला विकास समितिले ठेक्कामार्फत सञ्चालन गर्दै आएको थियो । 

विसं २०७२ को संविधानले स्थानीय स्रोतको सञ्चालनमा स्थानीय तहलाई अधिकार प्रदान गरेपछि जिल्ला विकास समितिले थाहा नगरपालिकालाई भ्यूटावरको स्वामित्व हस्तान्तरण गरेको थियो । भ्यूटावर नगरपालिकाको स्वामित्वमा आएपछि जननिर्वाचित प्रतिनिधिको नगरसभाले भ्यूटावरमा राख्न दूरविन खरीद गर्नका लागि बजेट विनियोजन गर्दै आएको छ । अहिलेसम्म दूरविन ल्याउन सकेको छैन ।

गत आर्थिक वर्ष २०७६/७७ मा दूरविन खरीद गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको भए पनि पर्यटन मन्त्रालयले नै उपलब्ध गराउने आश्वासन पाएपछि बजेट संशोधन गरिएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले जानकारी दिए । नगरपालिकाले चालू आव २०७७÷७८ का लागि प्रवर्द्धनात्मक कार्यक्रमअन्तर्गत भ्यूटावर मर्मत शीर्षकमा रू. चार लाख बजेट छुट्याएको छ । भ्यूटावरमा नयाँ दूरविन राख्न दूरविन खरीदको प्रक्रिया शुरु गरिएको उनले बताए ।

अहिले  भ्यूटावर र रिसोर्ट दुवैको मूलढोकामा ताल्चा झुण्ड्याइएको छ । दामनको पर्यटकीय मनोरम हावापानीमा रम्दै भ्यूटावरमा रहेको दूरविनबाट दृश्यावलोकन गर्ने योजना बनाएर दामन आउने पर्यटक खिन्न हुँदै फर्किने गरेका छन् । ‘पर्यटक भ्यूटावर चढ्न भनेर आउँछन्, मूलढोकामा ताला झुण्डिएको देखेर खिन्न भएर फर्किन्छन्’, भ्यूटावर नजिकै होटल सञ्चालन गर्दै आएका सुरथ अधिकारीले भने ।

नेपालकै एक मात्र पर्वतीय वनस्पति केन्द्र, शीतोष्ण वागवानी केन्द्र, वनभोजस्थल, फोटो खिच्ने (सेल्फी) डाँडा, नेपालकै लामो भर्‍याङ आदि दामनका पर्यटकीय आकर्षणका केन्द्र भए पनि अधिकांश पर्यटक भ्यूटावर भएकै कारण आउने गरेको होटल व्यवसायीको भनाइ छ ।

भ्यूटावर चढ्ने र दृश्यावलोकन गर्ने योजनाले आएका पर्यटक स्थानीय होटल तथा रिसोर्टमा बस्दा स्थानीय व्यापार बढ्ने गरेको थियो । अहिले खास अवसरमा बाहेक दामनमा पर्यटक आउनै छाडेको होटल व्यवसायीको गुनासो छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More