काठमाडौं – चालू आर्थिक वर्षको पहिलो ५ महिना अर्थात् साउनदेखि मंसिरसम्म ४ खर्ब १६ अर्ब ८१ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएकाे छ । कोरोनाका कारण विदेशमा राेजगारी गुमाउनेकाे संख्या बढेकाले रेमिटेन्स घट्ने अनुमान गरिएको थियो ।
तर, रोजगारीका लागि विदेश जानेको संख्या निकै घटे पनि रेमिटेन्समा ठूलाे असर नपरेकाे देखिन्छ । गत वर्षको तुलनामा ५ महिनाको अवधिमा वैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ७७ प्रतिशतले घटेकाे छ । जबकि, गत वर्ष ७ प्रतिशतले बढेको थियो ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले विदेशमा रहेका प्रायः नेपालीले जागिर नगुमाएको र रकम बैंकिङ च्यानलबाट बढी आएकोले रेमिटेन्स बढेकाे बताए ।
गत वर्ष सामान्य अवस्थामा पनि आर्थिक वर्ष २०७५/७६ को तुलनमा ०.२ प्रतिशले रेमिटेन्स घटेको थियो । तर, चालू वर्षमा भने अघिल्लो वर्षको तुलनामा १०.९ प्रतिशतले बढेको छ ।
अमेरिकी डलरमा रेमिटेन्स ६.४ प्रतिशतले बढेर ३ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष ०.४ प्रतिशतले बढेको थियो ।