Home लगानि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको हालसम्मकै सर्वाधिक कित्ता आईपीओ आजदेखि विक्रीमा

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको हालसम्मकै सर्वाधिक कित्ता आईपीओ आजदेखि विक्रीमा

by अर्थन्यूज

काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ शुक्रवारदेखि विक्री खुला भएको छ । कम्पनीले प्राथमिक बजारको हालसम्मकै इतिहासमा सबैभन्दा बढी रू. ८ अर्ब बराबरको ८ करोड कित्ता आईपीओ विक्री खुला गरेको हो ।

सबै आवेदकले पाउने निश्चित रहेको यो आईपीओ छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म विक्रीमा रहनेछ । माग बमोजिम आवेदन परेमा छिटो अवधिभित्रै विक्री बन्द हुने कम्पनीले बताएको छ । 

कम्पनीले कुल ८ करोड कित्तामध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागेको हो । बाँकी ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । 

कम्पनीले यो आईपीओ विक्री गर्न पुस १० गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । कम्पनीले उक्त आईपीओ विक्रीको अनुमति माग्दै मंसिर ८ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । 

अधिकृत पूँजी रू. ४० अर्ब र जारी पूँजी रू. २० अर्ब रहेको बैंकको हाल चुक्तापूँजी रू. १२ अर्ब रहेको छ । आगामी वर्षभित्र ८ प्रतिशत पूँजी बढाउने प्रक्षेपण कम्पनीले गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७७÷७८ मा चुक्तापूँजी रू. २१ अर्ब ६० करोड चुक्तापूँजी कायम गर्ने प्रक्षेपण गरेको हो । संस्थापकतर्फ हाल ६० प्रतिशत शेयर स्वामित्व कायम रहेको कम्पनीले सर्वसाधारणमा जारी पूँजीको ४० प्रतिशत हिस्सा शेयर विक्री गर्न लागेको हो । 

उक्त आईपीओ विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ । खरीदकर्ताहरुले विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट र मेरोशेयर सफ्टवेयरसँगै मेरो शेयर एपबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । 

कम्पनीको आईपीओलाई इक्रा नेपालले वित्तीय अवस्था मध्यम रहेको संकेत गर्ने ‘इक्राएनपी आईआर त्रिपल बी’ रेटिङ प्रदान गरेको छ । गत आर्थिक वर्ष ०७६÷७७ मा कम्पनीले रू. १ अर्ब २३ करोड ४३ लाख ७१ हजार खुद नाफा गरेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ११३ दशमलव ६२ र प्रतिशेयर आम्दानी रू. ७ दशमलव शून्य ६ रहेको छ । 

पूर्ण प्रविधिमैत्री र देशभर नै पहुँच पुगेको प्राथमिक बजारमार्फत सार्वजनिक निष्कासन हुने आईपीओ पाउन भाग्य भरोसाको स्थिति रहेकोमा उक्त कम्पनीले भने सबै आवेदकलाई शेयर दिने भएको हो । जसले गर्दा पछिल्लो समय यस बैंकको शेयर भर्नकै लागि भनेर डिम्याट खाता खोल्नेको संख्या उल्लेख्य देखिएको छ । 

सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले दिएको जानकारी अनुसार पुस मसान्तसम्म हितग्राही खाताको संख्या २५ लाख ३४५ रहेको छ । पछिल्लो समय चन्द्रागिरी हिल्सको आईपीओमा १२ लाख ५१ हजार ९३८ जनाको आवेदन परेको छ । 

सोही आवेदकको संख्यालाई आधार मान्दा उक्त कम्पनीको शेयरमा त्योभन्दा पनि बढी आवेदन पर्ने सम्भावना रहेको छ । मानौ १२ लाख ५० हजार योग्य आवेदक भए भने उक्त कम्पनीको शेयर सबै आवेदकलाई ६० कित्ताका दरले बाँडफाँट गर्दा ७ करोड ५० लाख कित्ता बाँडफाँट हुन्छ । बाँकी ८ लाख ४० हजार कित्ता शेयर योग्य आवेदकहरुबाट ८४ हजार आवेदकले थप १० कित्ताका दरले शेयर पाउनेछन् । 

यसरी १२ लाख ५० हजार आवेदकको अनुमान गर्दा सबै आवेदकले ७० कित्तासम्मका लागि आवेदन दिएमा बढीमा ७० कित्तासम्म कम्पनीको शेयर बाँडफाँट हुनेछ । आवेदकले गरेको रकमले पनि उक्त कम्पनीको शेयर बाँडफाँटमा फरक पर्नेछ । १२ लाख ५० हजार आवेदकहरुमध्ये ७० कित्ताभन्दा कम माग गर्ने भएमा बाँडफाँट कित्ता भने फरक पर्न सक्नेछ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More