काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले १४औं वार्षिक साधारणसभा माघ ३० गते बोलाएको छ । कम्पनी सञ्चालक समितिको गत पुस २९ गते बसेको बैंठकले होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरामा बिहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हालको चुक्तपूँजीको १३.५ प्रतिशत बोनस शेयर र ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । त्यस्तै आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव विवरण र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्नेछ ।
सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति सम्बन्धी सहमतिपत्र तयार गरी हस्ताक्षर गर्न र त्यससँग सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारणसभा प्रयोजनको लागि माघ १२ गतेदेखि ३० गतेसम्म शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गरिनेछ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माघ ११ गतेसम्म कारोबार गर्ने शेयरधनीहरुले सभामा भाग लिनुका साथै प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।