Home पर्यटन ‘हाइकिङ ट्रेल’ प्रवर्द्धन गर्दै टान

‘हाइकिङ ट्रेल’ प्रवर्द्धन गर्दै टान

by अर्थन्यूज

कास्की ।  ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले ‘हाइकिङ ट्रेल’ मार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एकदिने हाइकिङ कार्यक्रम सम्पन्न गरेको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्द्धनमा टान टोलीले कास्कीको देउराली, कास्कीकोट, सराङकोट हुँदै मेथलाङ जरेवरसम्मको करिब १५ किलोमिटर हाइकिङ गरेको हो ।
‘प्रकृतिको स्वच्छता ग्रामीण परिवेशको रहनसहन संस्कृतिसँगै यस क्षेत्रको ऐतिहासिक, सांस्कृतिक महत्व बुझाउन र हाइकिङ ट्रेलको प्रवद्र्धनका लागि कार्यक्रम आयोजना गरिएको हो’, टानका अध्यक्ष सुशील पौडेलले भने ।     

‘कोभिड–१९ को महामारीले सुस्ताएको पर्यटनलाई चलायमान बनाउन अब आन्तरिक पर्यटक लक्षित गतिविधिमा जोड दिँदै पदयात्रा प्रवद्र्धनसँगै हाइकिङ संस्कृतिको विकासका लागि पहल थालिएको हो’, पौडेलले भने ।

व्यस्त जीवनशैलीका कारण मानिस प्रकृतिबाट टाढा–टाढा भइरहेको अवस्थामा हरिया डाँडापाखाभित्रका शान्त स्थलमा चराचुरुंगीका चिरबिर आवाजसँगै पैदल यात्राले शारीरिक र मानसिक दुवै स्फूर्ति बढाउन मद्दत पुग्ने विश्वास उनको छ ।

यसको महत्वलाई बुझाउँदै यस क्षेत्रको विकासमा हाइकिङ ट्रेलको प्रवर्द्धनात्मक कार्यमा जोड दिन कार्यक्रमको आयोजना गरिएको उनले बताए ।   
 
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले पछिल्लो समय हाइकिड संस्कृतिको विकास हुँदै गएको जानकारी दिए । ‘हाइकिङमा प्रकृतिसँगको सामिप्यतामा वनस्पति, वन्यजन्तु, चराचुरुंगी, हिमाल, पहाड, ग्रामीण परिवेश, रहनसहन, संस्कृतिसँगै रमाउन सकिन्छ’, भट्टराईले भने, ‘पोखरा आसपासमै छोटो लामो दूरीका हाइकिङ ट्रेल छन् तर प्रचार–प्रसार अभावले ओझेल परेका छन् । पारिवारिक वातावरणमा हाइकिङ गर्न सकिने यस्ता ठाउँकोे प्रवर्द्धनमा जोड दिनुपर्छ ।’

उनले पर्यटन प्रवद्र्धनसँगै स्वास्थ्यका हिसाबले पनि हाइकिङ निकै राम्रो मानिने बताए ।     

अहिलेको अवस्थामा आन्तरिक पर्यटनलाई बढावा दिन हाइकिङ ट्रेलबारे प्रवर्द्धनात्मक कार्यक्रममा जोड दिनुपर्ने उनको धारणा छ । पोखरा–२४ का वडाध्यक्ष ओम सुवेदीले पर्यटकीय, ऐतिहासिक एवं धार्मिक सांस्कृतिक महत्व बोकेको कास्कीकोटको विकासका लागि थुप्र्रै काम भइरहेको जानकारी दिए ।

उनले भने, ‘यस क्षेत्रको विकास र प्रवद्र्धनमा लागेका छौँ, पदमार्ग निर्माण भइरहेको छ । नागडाँडाबाट देउरालीसम्म तीन किलोमिटरको अपांगमैत्री पदमार्ग बनेको छ । त्यसयता पोखरा– २४ र १८ सम्मको करिब आठ किलोमिटर पदमार्ग स्तरोन्तिको काम पनि भइरहेको छ ।’

सुवेदीले नेपाल पर्यटन बोर्डको सहयोगमा ५ लाख ७१ हजार बजेटबाट उक्त काम भइरहेको जानकारी दिए  । आन्तरिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य रहेकाले यस क्षेत्रको प्रचारप्रसारमा आवश्यक रहेको उनको भनाइ छ ।

कास्कोट पर्यटन विकास समितिको समन्वयमा सम्पन्न हाइकिङ कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सञ्चाकर्मीसहित ७० जनाको सहभागिता रहेको समितिका संयोजक उदय सुवेदीले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More