काठमाडौं – मोबाइल सेवाप्रदायक कम्पनी एनसेल व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्ने भएको छ ।
झन्डै १० दशमलव २ किलोमिटर दूरी रहेको यस सडक खण्डको हरियाली विकास तथा संरक्षण गर्दै वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्य एनसेलले लिएको छ । सामाजिक पहलअन्तर्गत एनसेलले कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा ल्यान्डस्केपिङसहित हरियाली निर्माण र संरक्षणको काम गरिरहेको छ । यसै पहलअन्तर्गत एनसेलले एकान्तकुनादेखि बल्खु सडक खण्डका ग्रीन बेल्ट क्षेत्रमा नमुनाका रूपमा हरियाली निर्माण गर्ने कार्य सम्पन्न गरिसकेको छ ।
यसअघि एनसेलले सोही सडक खण्डमा वृक्षारोणका लागि सहयोग गरेको थियो । हरियाली विकासका साथै एनसेलले पाँच वर्षसम्म यो खण्डमा रहेका ६ हजारभन्दा बढी रुख–बिरुवाको हेरचाह गर्दै ग्रीन बेल्टको संरक्षण गर्नेछ ।
‘वन तथा भू–संरक्षण विभागसँगको यो सहकार्यले कसरी सार्वजनिक÷निजी क्षेत्रको सहकार्यमा प्रभावकारी काम गर्न सकिन्छ भन्ने उजागर गरेको छ । रिङरोडको १०.२ किलोमिटर सडक खण्डको क्षेत्रमा दायाँबायाँ हरियाली निर्माण तथा संरक्षणको कार्य सार्वजनिक–निजी साझेदारीको उत्तम उदाहरण हो,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने ।
‘वृक्षारोपण गर्दै हरियाली बढाउने सरकारको अभियानअन्तर्गत यो रिङरोड ग्रीनबेल्ट योजना कार्यान्वयनका लागि २ महानगरपालिका र एनसेलसँग सहकार्य गर्न लागेका छौं’, वन तथा भू–संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले भने । वातावरण संरक्षण पहलअन्तर्गत एनसेलले काठमाडौं महानगरमा एक हरित पार्क पनि निर्माण गर्दै छ । यसअघि एनसेलले धनुषाधाम संरक्षित वनको ३३ हेक्टर जमिनमा ५० हजार बिरुवा वृक्षारोपण गरेको थियो ।