Home ऊर्जा उपकरण छिटो आपूर्ति गर्न माथिल्लो तामाकोशी आयोजनाको दबाब

उपकरण छिटो आपूर्ति गर्न माथिल्लो तामाकोशी आयोजनाको दबाब

by अर्थन्यूज

काठमाडौं – पटकपटक निर्माणको भाका सार्दै आएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले उपकरण र सामग्री आपूर्तिको जिम्मा लिएको ठेकेदार कम्पनीलाई ताकेता बढाएको छ । उपकरण आउन ढिला हुँदा आयोजना निर्माणको समय लम्बिन लागेपछि आयोजनाले निर्माण उपकरण आपूर्तिको जिम्मा लिएको भारतीय कम्पनीमाथि दबाब बढाएको हो ।

भारतको कोलकातास्थित टेक्सम्याको रेल एण्ड इन्जिनियरिङ लिमिटेडले आयोजनाका लागि पेनस्टक पाइप, हाइड्रोमेकानिकल इक्वीपमेन्ट, पावर जेनेरेटर लगायतको आपूर्तिको ठेक्का लिएको थियो । आपूर्तिकर्ताले समयमा ती उपकरण उपलब्ध नगराउँदा निर्धारित समयमा विद्युत् उत्पादन गर्न नसकिएको आयोजनाका अधिकारीहरूले बताएका छन् ।

टेक्सम्याकोले ३ अर्ब रुपैयाँमा ठेक्का सकारेकोमा कोरोना महामारीका कारण आपूर्ति गर्न नसकिएको बताएको छ । आयोजनाले पछिल्लो पटक यही पुसभित्र निर्माण सकेर माघदेखि परीक्षण उत्पादन र वैशाखदेखि व्यावसायिक उत्पादन थाल्ने लक्ष्य राखेको थियो ।

अहिले प्राविधिकहरूको टोली आपूर्तिकर्ता कम्पनी टेक्सम्याकोको कोलकातास्थित मुख्यालयमै पुगेको छ । आयोजनाबाट दुईजना इन्जिनियरसहितको टोलीले टेक्सम्याकोको कार्यालयमै गएर शर्तअनुसारका उपकरण उपलब्ध गराउन सहजीकरण गरिरहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । प्राविधिकहरू करीब ४ महीनादेखि कोलकातामै छन् ।

कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले टेक्सम्याकोलाई उपकरण र सामग्री चाँडो उपलब्ध गराउन दबाब दिएको छ । आयोजनाले सहजीकरणका लागि आग्रह गरेपछि टेक्सम्याकोको कार्यालयमा पुगेर शर्तअनुसार काम अघि बढाउन भनिएको महावाणिज्यदूत ईश्वरराज पौडेलले जानकारी दिए ।

टेक्सम्याकोले कोरोना महामारीलाई देखाएर ढिलासुस्ती गरेपछि इन्जिनियरको टोली नै कोलकाता पठाइएको आयोजनाका अधिकारीहरूको भनाइ छ । आयोजनाका दुईजना इन्जिनियरसहितको टोली कोलकाता पठाइएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए । ‘कामलाई गति दिन इन्जिनियरलाई कोलकाता पठाएका छौं । टेक्यम्याकोले दिन सक्ने सामान उसैबाट लिने र उसले आपूर्ति गर्न नसकेमा अरू कम्पनीबाट लिएर भए पनि कामलाई गति दिने तयारी छ,’ श्रेष्ठले आर्थिक अभियानसँग भने ।

राष्ट्रिय गौरवको आयोजनामा राखिएको ४५६ मेगावाटको यो आयोजना २०६८ सालमा निर्माण थाल्दा ३५ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । निर्माण अवधि लम्बिँदै जाँदा लागत दोब्बरभन्दा बढी पुगिसकेको छ । अहिले आयोजनाको खर्च ७३ अर्ब ७६ करोड रुपैयाँ पुगिसकेको छ ।

आयोजनाले ९९ दशमलव ५ प्रतिशत काम पूरा भइसकेको भन्दै आएको छ । आपूर्तिकर्ताले शर्तअनुसार समयमा काम नगर्दा ढिलाइ भएको दाबी आयोजनाका उच्च अधिकारीले गरेका छन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More