Home बजार आइतवारदेखि टी प्लस टु लागू हुँदै, लगानीकर्ताहरुलाई अझ बढी जिम्वेवार हुन आग्रह

आइतवारदेखि टी प्लस टु लागू हुँदै, लगानीकर्ताहरुलाई अझ बढी जिम्वेवार हुन आग्रह

by अर्थन्यूज

काठमाडौं – धितोपत्र दोस्रो बजारमा हुने कारोबारको राफसाफ तथा फछर्यौट चक्र आइतवारदेखि (माघ ११ गते) २ दिनभित्र हुने भएको छ । 
‘टी प्लस टु’ लागू भएपछि शेयर खरीदविक्री गरेपछिको अर्को २ दिनभित्र अर्थात् टी प्लस टु मा राफसाफ  गरिसक्नु पर्नेछ । 

नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबारको राफसाफ चक्र दुई दिन कायम गर्ने बाटो यसअघि नै खोलिदिएको थियो । बोर्डले दुई दिनको राफसाफ चक्र कायम हुने गरी शंसोधनका लागि पेश गरेको विनियमावलीलाई स्वीकृति दिएको थियो । 

टि प्लस टु राफसाफ तथा फर्छ्यौट चक्र कार्यान्वयनमा आएपछि धितोपत्रको तरलता वृद्धि भई बजार थप गतिशिल हुने र लगानीकर्तालाई थप लगानीको अवसर प्राप्त हुने धितोपत्र बोर्डले बताएको छ ।

बोर्डले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट प्रणालीलाई २ दिनमा झार्ने योजना बनाएको थियो ।

 हाल धितोपत्र कारोबार गरेको तीन दिनभित्र राफसाफ गरिसक्नु पर्ने व्यवस्था छ । उक्त व्यवस्था बमोजिम शेयर विक्रीकर्ताले आफूले विक्री गरेको शेयर बराबरको रकम तीनदिन भित्र पाइसक्नु पर्नेछ भने खरीदकर्ताको शेयर खातामा पनि तीन दिनभित्रै शेयर जम्मा भइसक्नु पर्नेछ ।

अब सीडीएससी र दलाल व्यवसायी बीच भएको सहमति अनुसार यी कार्य दुई दिनभित्र भइसक्नु पर्नेछ । दोस्रो बजार  प्रविधिमैत्री बनेकाले राफसाफ प्रक्रियालाई पनि छोट्याउन माग वर्षौंदेखि लगानीकर्ताले गर्दै आएका थिए ।

यसैबीच स्कट ब्रोकर एशोसिएशन अफ नेपालले प्रेस विज्ञप्ति जारी गर्दै टी प्लस टु चक्रको  सफल कार्यान्वयनका लागि राफसाफसँग सम्बन्धित सबै पक्षहरुले आ-आफ्नो जिम्मेवारी समयमै निर्वाह गर्न ध्यानाकर्षण गराएको छ ।

एशोसिएशनका महासचिव गुणनीधि भुसालद्वारा जारी विज्ञप्तिमा राफसाफ प्रक्रियाको शुरुवात नै लगानीकर्ताहरुबाट हुने हुँदा टी प्लस टु राफसाफ चक्रको सफल कार्यान्वयनका लागि लगानीकर्ताहरु अझ बढि जिम्मेवार हुन भनिएको छ ।

साथै विज्ञप्तिमा टी प्लस टु राफसाफ चक्रको सफल कार्यान्वयनले नेपाली बजार अन्तरराष्ट्रियस्तरको यात्रामा थप अघि बढ्ने, धितोपत्रबजारमा थप तरलता वृद्धि हुने, बजारको उतार चढाब बाट लगानीकर्ताले थप लाभ लिन सक्ने र सबैमा थपउत्साह र उर्जा  मिल्ने पनि उल्लेख छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More