लमजुङ – लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाले हालसम्म ९६ प्रतिशत निर्माण सम्पन्न गरेको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन यस आयोजनाको चार प्रतिशत मात्र काम बाँकी रहेको र आगामी चैत महीनामा बिजुली उत्पादन हुने आयोजनाले बताएको छ ।
आयोजनाका प्रबन्धक मुन्ना शाक्यका अनुसार मेकानिकल, इलोट्रो–मेकानिकल, पाइप बिच्छाउने, सुरुङको केही काम बाँकी छ । यीमध्ये पाइप बिच्छाउने र सुरुङको काम फागुनभित्रै सकिन्छ । ३ हजार २०० मिटर पाइप बिच्छाउनमध्ये ३ हजार १०० मिटर बिच्छाउने काम सम्पन्न भइसकेको र अब १०० मिटर मात्र बाँकी रहेको आयोजनाले बताएको छ ।
निर्माण सम्पन्न गर्नुपर्ने निर्धारित समय सकाउँदै समय थप गरी अघि बढ्दै गरेको यस आयोजनाले गत पुसबाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको थियो । कोभिडका कारणले निर्माणमा प्रभावित भएकाले केही समय ढिला हुँदा निर्माण अवधिसमेत केही समय लम्बिएको आयोजना कार्यस्थल प्रमुख दिपक ज्ञवालीले बताए।
बाँध स्थललगायतका अधिकांश काम पूरा गर्दै निर्माण सम्पन्नको चरणमा पुगेकाले अब भने समयमै काम सम्पन्न हुने उनको भनाइ छ ।
नाकाबन्दी, अघिल्लो बर्षायाममा विद्युत् गृहमा मस्र्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामानमा पुर्याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले ढिलाइ हुन पुगेको योजनाले बताएको छ । पछि समय थपेर गत चैत मसान्तसम्ममा निर्माण सक्ने सम्झौता गरे पनि सोही अवधिमा पनि निर्माण सम्पन्न नभएपछि गत असारसम्म सक्ने गरी सम्झौता भएको थियो ।
यस आयोजनामा गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) को ३५ दशमलव सात प्रतिशत, आइएमई ग्रूपको ३४ दशमलव ३ प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ । आयोजनाका कार्यकारी प्रमुख गुरुप्रसाद ढकालका अनुसार नेपाल विद्युत प्राधिकरण र सो कम्पनी बीच २०६९ असार १ गते पीपीए सम्झौता भएको थियो । आयोजनाको अनुसार सुक्खा याममा ८ रुपियाँ ४० पैसा र वर्षायाममा ४ रुपियाँ ८० पैसामा विद्युत् खरीद गर्ने सम्झौता भएको छ ।
यस दोर्दी करिदोरमा निर्माणाधीन पाँच ओटा आयोजना करीब २४ अर्ब रुपियाँ लगानीमा निर्माणाधीन छन् । यी आयोजनामध्ये केही आयोजनाले आगामी चैतभित्रै निर्माण कार्य सम्पन्न गर्दै विद्युत उत्पादन गर्ने लक्ष्यसमेत राखेको छ । त्यस्तै, जिल्लामा केही आयोजना निर्माण हुने प्रक्रियामा रहेका छन् । त्यस्तै, केही आयोजनाले निर्माण कार्य सम्पन्न गर्दै विद्युत् उत्पादन गर्दै आइरहेका छन् ।