Home पर्यटन एकीकृत पर्यटन तथ्यांक प्रणालीको तयारी

एकीकृत पर्यटन तथ्यांक प्रणालीको तयारी

by रासस

पोखरा । नेपाल आउने पर्यटकको सम्पूर्ण विवरणसहितको तथ्यांक तथा सूचना राख्ने गरी एकीकृत पर्यटन तथ्यांक प्रणाली विकास गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहल र नेपाल पर्यटन बोर्डको सहकार्यमा उक्त प्रणालीको विकास गर्न लागिएको हो ।

उक्त प्रणालीका बारेमा पहिलो पटक पोखराका पर्यटन व्यवसायी एवम् संघसंस्थासँग राय सुझाव संकलन गरिएको बोर्डका निर्देशक एवम् सूचना अधिकारी मणिराज लामिछानेले बताए । ‘अहिलेसम्म नेपाल आउने पर्यटकको एकीकृत तथ्यांक राख्न सकिएको थिएन, अब उक्त प्रणालीको विकासपछि नेपाल आउने पर्यटकको सम्पूर्ण विवरणसहितको तथ्यांक राख्न सकिने छ,’ उनले भने, ‘यसलाई प्रभावकारी रूपमा तयार गर्न पहिलो पटक पोखरामा सरोकार संघसंस्था र पर्यटन व्यवसायीसँग छलफल गरेका छौं ।’  

सो प्रणालीबाट नेपाल आउने पर्यटकको बसाइ अवधिदेखि आवश्यक सम्पूर्ण विवरण राख्न सकिने उनले बताए । ‘अहिलेसम्म पर्यटनको एकीकृत तथ्यांक संकलन केन्द्र नहुँदा पर्यटनसँगसम्बन्धी कुनै पनि घटना एवम् गतिविधिको तथ्यसहितको विवरण पाउन सकेका छैनौं । यसले धेरैलाई अन्योल समेत बनाएको छ । कहाँ कति पर्यटक आए, कति बसे, को कहाँ घुम्दै छन् भन्ने पनि थाहा छैन,’ उनले भने, ‘अब डिजिटल प्रणालीको विकाससँगै सहज हुनेछ ।’

तथ्यांक प्रणालीको विकाससँगै अहिले कोभिड–१९ का कारण समग्र पर्यटन क्षेत्रले भोग्नुपरेको समस्या, लगानी, नोक्सान र वास्तविक श्रमिकको तथ्यांक समेत निकाल्न सकिने उनले बताए ।   

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले नेपाल सरकारले ढिलै भए पनि डिजिटल प्रविधिको प्रयोग गर्दै तयार गर्न लागेको एकीकृत सूचना प्रणाली पर्यटन क्षेत्रका लागि निकै स्वागतयोग्य भएको बताए । यस प्रणालीबाट कुन देशको कति पर्यटक आए, कहाँ कहाँ गए भन्ने विवरणसहित पर्यटन क्षेत्रका रोजगारदाता, श्रमिक र यस क्षेत्रका लगानीका बारेमा समेत एकीकृत सूचना आउने उनको भनाइ छ । ‘सूचना प्रणाली निर्माणपूर्व पर्यटन सम्बद्ध संघसंस्था र व्यवसायीसँग रायसुझाव मागिएको छ, हामीले आफ्नो क्षेत्रबाट सुझाव दिएका छौं,’ उनले भने, ‘विशेषगरी पर्यटकले आफ्नो विवरण होटलको फ्रन्ट डेस्कमै बुझाउनुपर्ने भएकाले फ्रन्ट डेस्कका म्यानेजर र सीईओलाई पनि यस विषयमा विशेष प्रशिक्षण दिनु जरुरी छ ।’

भट्टराईले यस प्रणालीमार्फत नेपालका विभिन्न क्षेत्रमा पुगेका पर्यटकको अवस्थादेखि कुनै पनि समस्या परेको बेला उद्धार गर्नसमेत सहज हुने विश्वास व्यक्त गरे । पर्यटक बोर्डका कार्यकारी समिति सदस्य विप्लव पौडेलले एकीकृत पर्यटन तथ्यांक प्रणालीमार्फत आधिकारिक र सही तथ्यांक प्रेषित हुने बताए । ‘यस प्रणालीको निर्माणपछि यस क्षेत्रको सम्पूर्ण कुरा आधिकारिक अभिलेखित हुनेछन्, कोही कसैले अनुमानका भरमा बोल्नु पर्दैन,’ उनले भने ।

पर्यटन मन्त्रालय र बोर्डले एकीकृत तथ्यांक प्रणालीको गृहकार्यका लागि पहिलो पटक पोखरामा सरोकार संघसंस्था र व्यवसायीबीच रायसुझावसहित प्रशिक्षणसमेत दिएको जानकारी पनि उनले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More