काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले एक महीनामा १०० ओटा भन्दा बढी फर्मलाई कारवाही गरेको छ । विभागले अनुचित व्यापारिक कारोवार गरेको जनाउँदै गत पुसमा १०९ ओटा फर्मलाई कारवाहीस्वरुप जरिवाना गरेको हो ।
काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा १३ लाख ७४ हजार रुपियाँ राजस्व सङ्कलन गरिएको विभागका सूचना अधिकारी शिवराज सेढाईंले जानकारी दिए । उनका अनुसार एक महीनाको अवधिमा विभिन्न २८ विषयगत क्षेत्रका ३५१ ओटा फर्मको अनुगमन गरिएको थियो ।
तिनमा १६८ ओटा फर्मलाई तत्काल सुधार गर्न सामान्य निर्देशन दिइएको र १ लाख ३३ हजार रुपियाँभन्दा बढीको म्याद सकिएका सामग्री नष्ट गरिएको, ६६ ओटा फर्मलाई स्पष्टीकरण सोधिएको तथा छ फर्मबाट नमूना सङ्कलन गरिएको बताइएको छ ।
एक महीनाको अवधिमा सबैभन्दा धेरै खाद्यान्न पसललाई कारवाही गरिएको उनले बताए । उनका अनुसार १०६ ओटा खाद्यान्न पसलको अनुगमन गर्दा २७ ओटा फर्म अनुचित व्यापारिक कारोबारमा संग्लन भएको पाइएपछि कारवाही गर्दा ४४ लाख ५ हजार राजस्व सङ्कलन भएको छ ।
यसैगरी अनुगमन गरिएका खाद्यान्न फर्ममध्ये ६२ ओटा फर्मलाई सामान्य निर्देशन दिइएको, ५४ हजार बराबरको म्याद सकिएका खाद्यान्न नष्ट गरिएको र १६ ओटा फर्मलाई स्पष्टीकरण सोधिएको थियो ।
अनुगमनका क्रममा अण्डा तथा दाना, अस्पताल, आयातकर्ता, उद्योग, कपडा पसल, कस्मेटिक तथा किराना पसल, खाद्यान्न, दाना उत्पादन, डिपार्टमेन्ट स्टोर, निर्माण सामग्री, मदिरा पसल, मार्ट र मासु पसल तथा फार्मेसी पसलको अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरीद विक्री बिल नराख्ने फर्मलाई ५ हजारदेखि ३ लाख रुपियाँसम्म जरिवाना गरिएको विभागले बताएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोबार गर्ने पसललाई जरिवाना गरिएको विभागले बताएको छ ।