Home व्यापार रसुवागढी नाकाबाट आयातित सामग्रीको परिमाण बढाइदिन आग्रह

रसुवागढी नाकाबाट आयातित सामग्रीको परिमाण बढाइदिन आग्रह

by रासस

रसुवा – रसुवागढी नाकाबाट कारोबार हुने चिनियाँ माल सामग्रीको आयात परिमाण बढाइदिन आग्रह गरिएको छ ।

नाकाबाट आयात अत्यन्तै न्यून भएपछि व्यापारी व्यवसायीलाई परेको मर्का र राजस्वमा आएको कमीलाई ध्यान दिंदै सामग्रीको परिमाण बढाइदिन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो ।     
     
 नाकामा चालक तथा सामान लाने भरियासमेत क्वारेन्टिनमा राखी पूर्ण सुरक्षाको व्यवस्थापन गरिएका कारण माल सामग्री आयातमा कमी आएको बताइएको छ । आयात बढाउने व्यवस्थापन मिलाइदिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।     
     
कोभिड–१९ का कारण मानिसको आउजाउ पूर्णरूपले बन्द भए पनि गत असारदेखि दैनिक तीन कन्टेनर मात्र सामग्री आयात भइरहेको छ । कोरोनाको जोखिम अगाडि सामान लिन केरूङ गएका दर्जनौं सवारी साधन चिनियाँ भूभागमै छाड्नुपर्दा यहाँका व्यवसायीलाई मर्का परेको छ । चिनियाँ भूभागमा रोकिएका सवारी साधनको लगत तयारका प्रक्रियामा रहेको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यले बताए ।     
     
थोरै परिमाणमा आयात भएका सामग्रीमा तयारी कपडा, जुत्ता, चप्पल, रोलकपडा, ससाना सवारी साधन र विद्युत् उत्पादनका उपकरणजस्ता सामग्री रहेको भन्सार कार्यालय रसुवाका प्रवक्ता नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।

चालू आवको साउनदेखि हालसम्म १ हजार २२३ ओटा मालबाहक कन्टेनर भन्सार हाताबाट बाहिरिएको र भन्सार शुल्कबापतको १ अर्ब ८१ करोड ६२ लाख ६४ हजार ३३४ रुपियाँ राजस्व सङ्कलन भएकोे उनले बताए । गत वर्ष कोरोनाको समस्याबाहेक अन्य अवधिमा कुल ८ अर्ब २७ लाख ७७ हजार रुपियाँ राजस्व सङ्कलन भएको भन्सार कार्यालयले बताएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More