न्यापिटअ (म्यान्मार) – म्यान्मारको सैनिक टेलिभिजनले म्यान्मारको सम्पूर्ण सत्ता एक वर्षका लागि आफूहरुले नियन्त्रणमा लिएको घोषणा गरेको छ । आङ सान सुकी समेत देशका सबैजसो वरिष्ट राजनीतिज्ञहरुलाई सेनाले नियन्त्रणमा लिइएको पनि जानकारी दिएको छ ।
सेनाको नियन्त्रणमा रहेको म्यावाडी टिभीका एक सैनिक प्रस्तोताले सेनाको घोषणा वाचन गर्दै सेनाले मस्यौदा गरेको संविधान बमोजिम देशभित्र आपतकालीन स्थिति उत्पन्न भए सेनाले देशलाई नियन्त्रणमा ल्याउन सक्ने उल्लेख गरेका थिए ।
ती सैनिक प्रस्तोताले गत नोभेम्बरमा सम्पन्न आम निर्वाचनमा धाँधली भएको भन्ने सेनाको दाबीलाई अस्वीकार गरिएको तथा कोरोना भाइरसका कारण देशभित्र संकटपूर्ण अवस्था रहेकाले आम निर्वाचन स्थगित गर्न सरकार अक्षम भएपछि सैनिक नियन्त्रण आवश्यक रहेको बताएका थिए ।
केही दिनदेखि सेनाले सत्ता विद्रोहको तयारी गरिरहेको छ भन्ने समाचार सार्वजनिक भए पनि सेनाले त्यस्तो खबरमा सत्यता नरहेको बताउँदै आएको थियो । तर नयाँ निर्वाचन भएर नयाँ संसदको बैठक आजै शुरु हुने दिन बिहान सेनाले सत्ता विद्रोह गरेको छ ।
राजनीतिक नेताहरुलाई सैनिक नियन्त्रणमा राख्ने र अन्य संचार सम्पर्क विच्छेद गर्ने निर्णयले सेनाद्वारा सत्ता नियन्त्रण गरेको प्रस्टै देखिएको छ । राजधानी न्यापिटअको फोन र इन्टरनेट सेवा काटिएको छ भने सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) को पार्टी कार्यालयसँगको सम्पर्क टुटेको छ ।
इरावादी नामको अनलाइन सेवाले स्टेट काउन्सिलर समेत रहेकी आङ सान सुकी र देशका राष्ट्रपति विन मिन्ट दुबैलाई बिहानै नजरबन्दमा राखिएको जानकारी दिएको छ । इरावादीका अनुसार एनएलडीका केन्द्रीय कार्यकारी समितिका सदस्यहरु, सांसदहरु र क्षेत्रीय मन्त्रिपरिषदका सदस्यहरुलाई पनि गिरफ्तार गरिएको छ ।
अमेरिका, अस्ट्रेलिया र अन्य मुलुकले विज्ञप्ति प्रकाशन गरी म्यान्मारको पछिल्लो अवस्थाप्रति चिन्ता प्रकट गर्दै म्यान्मारको सेनालाई कानूनी शासनको सम्मान गर्न आग्रह गरेका छन् ।
वासिङटनमा ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले एक वक्तव्य प्रकाशन गरी म्यान्मारको लोकतान्त्रिक संक्रमणकालीन स्थितिलाई नजरअन्दाज गरी बर्मेली सेनाले गरेका कुनै पनि कार्यप्रति अमेरिकाको समर्थन नरहने अमेरिकी धारणा प्रस्ट रहेको बताएका छन् । उनले स्टेट काउन्सिलर आङ सान सुकी र अन्य नागरिक पदाधिकारीको गिरफ्तारी आपत्तिजनक रहेको बताउनु भएको छ ।
अस्ट्रेलियाकी विदेश मन्त्री म्यारिस पेनले सुकी र अन्य गिरफ्तार गरिएका सबैलाई हिरासतमुक्त गर्न आग्रह गर्नु भएको छ । उनले गत नोभेम्बरमा सम्पन्न चुनावको नतिजा अस्ट्रेलियाका लागि स्वीकार्य रहेको जनाउँदै त्यस निर्वाचनबाट प्राप्त नतिजा बमोजिम शान्तिपूर्ण रुपमा राष्ट्रिय सभाको बैठक बस्नुपर्ने अस्ट्रेलियाको धारणा रहेको बताएका छन् । एपी