Home ऊर्जा २५ मेवा क्षमताको सेती नदी जलविद्युत् आयोजनाको विद्युतगृहको काम शुरु

२५ मेवा क्षमताको सेती नदी जलविद्युत् आयोजनाको विद्युतगृहको काम शुरु

by रासस

कास्की – कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको ‘सिभिल’तर्फको काम धमाधम भइरहेको छ ।

कोरोना कहरका बीच गत वैशाखदेखि माछापुच्छ्रेमा निर्माण शुरु भएको सो आयोजनाको सिभिलतर्फ ‘सेटलिङ बेसिनमा आरसिसी स्ट्रक्चर’ ‘एप्रोच क्यानल’ तथा ‘हेडवक्र्स’ र नदी ‘डाइभर्सन’ काम भइरहेकामा यही माघको पहिलो सातादेखि विद्युृतगृह (पावर हाउस) निर्माण शुरु गरिएको आयोजनाले बताएको छ ।     

सार्दिखोलाको चिन्तेबगरमा २९ रोपनी जमीनमा विद्यृतगृह बनाउन लागिएको छ । मेसिनरी उपकरणबाट विद्युतगृहका लागि खन्ने काम भइरहेको आयोजनाले जनाएको छ । आयोजनामा अहिले १०० जना मजदूरले काम गरिरहेका छन् ।

नदी जलप्रवाहमा आधारित आयोजनाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी ६ हजार ४०० मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट निर्माणाधीन पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ ।     

पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव ५ मेगावाट क्षमताका दुई ओटा टर्वाइनमा जोडिनेछ । पाइप लाइनका लागि जमिन रेखाङ्कन सकिएको छ । लुम्बिनी प्रदेशको बुटवलमा रहेको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले सेती नदी जलविद्युत् आयोजनाको प्रवद्र्धन गरेको हो ।

गत साउनदेखि २७ महीनाभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएकामा कार्यतालिकाअनुसार नै काम अघि बढेकाले तोकिएको समयअगावै विद्युत् उत्पादन हुने भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए।     

उनका अनुसार हालसम्म आयोजनाको ३० प्रतिशत हाराहारीमा प्रगति भएकामा सभिलितर्फको प्रगति २० प्रतिशत छ । आयोजनाको सिभिलतर्फको काम रसुवा–लुना जेभीले गरिरहेको हो । उत्पादित विद्युत् चार किमी दूरीमा रहेको लाहाचोकमा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा जम्मा गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना छ ।     

कम्पनीका अध्यक्ष पोखरेलले आयोजनाको हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन (प्रसारण लाइन) निर्माणका लागि बोलपत्र आह्वान भएर मूल्याङ्कन सकिएकाले सम्झौताको तयारी अन्तिम चरणमा पुगेको बताए ।

प्रसारण लाइनका लागि ‘सर्भे’ सकिएको छ । ५ अर्ब रुपियाँ लगानी रहेको आयोजनामा ३ अर्ब ५० करोड रुपियाँ विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । बैंक वित्तीय संस्थासँग लगानीसम्बन्धी सम्झौता यसअघि नै सम्पन्न भइसकेको आयोजना प्रबन्धक इञ्जिनियर लेखनाथ पाण्डेले बताए ।     
     
बाँकी रकम प्रवर्द्धक कम्पनी तथा स्थानीयवासीले लगानी गर्नेछन् । उनका अनुसार आयोजनामा लगानीका लागि स्थानीयवासीसमेत उत्साहित छन् । स्थानीय ६०० जनाले आयोजनामा लगानी गरेका छन् ।

जलविद्युत् आयोजनाका लागि आवश्यक ७० रोपनी निजी जमीन स्थानीयवासीबाट खरीद गरिसकिएको तथा सरकारी ३० रोपनी क्षेत्रफल जमीन र वन क्षेत्रका केही रुख कटान गर्नुपर्ने भएकाले सोको प्रस्ताव वन मन्त्रालयमा पेश गरिएको आयोजनाका सामाजिक विकास प्रबन्धक बमबहादुर गुरुङले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More