मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ५२ करोड ५५ लाख रूपैयाँ वितरणयोग्य नाफा गरेको छ । उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५३ प्रतिशत अर्थात १८ कराेड २५ लाख रूपैयाँ बढी हो ।
आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्ममा बैंकले ३४ करोड ३० लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो ।
वितरणयोग्य नाफामा मुक्तिनाथ विकास बैंकले १२ वटा वाणिज्य बैंकलाई जितेको छ । वाणिज्य बैंकहरुको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ भन्दा बढी छ भने यस बैंकको चुक्ता पुँजी ४ अर्ब ८१ करोड रुपैयाँ छ ।
१२ वटा बैंकको वितरणयाेग्य नाफा ९ करोड रुपैयाँदेखि ५० करोडको बीचमा रहेको छ । पुस मसान्तको रिपोर्ट अनुसार लक्ष्मी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बंगलादेश बैंक, माछापुच्छ्रे बैंक, एनसीसी बैंक, हिमालयन बैंक, बैंक अफ काठमाण्डू, सेन्चुरी कमर्सियल बैंक, सनराईज बैंक, नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक र सिभिल बैंकको खुदनाफा भन्दा मुक्तिनाथ विकास बैंकको वितरणयाेग्य नाफा बढी देखिएको छ ।
समीक्षा अवधिमा मुक्तिनाथ विकास बैंकको अधिकांश सूचकमा सुधार भएको छ । बैंकले चालु आवकाे पहिलाे ६ महिनामा ६१ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेको छ । उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशत बढी हो । आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्ममा यस बैंकले ४७ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
मुक्तिनाथको वासलात पुस मसान्तसम्ममा ८३ अर्ब ७० करोड रुपैयाँ बराबर भएको छ । रिर्जभसहित बैंकको पुँजी कोष ६ अर्ब २७ करोड रुपैयाँ छ ।
यस विकास बैंकले सर्बसाधारणबाट ७४ अर्ब ८७ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ भने ६२ अर्ब ६७ करोड रुपैयाँ कर्जा प्रवाह र १२ अर्ब ७० करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ ।
नाफामा वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी पनि वृद्धि भएको छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५९ पैसा रहेको बैंकले प्रकाशित गरेको वित्तिय विवरणमा उल्लेख गरिएको छ । गत वर्ष यस्तो आम्दानी १९ रुपैयाँ ६४ पैसा थियो ।
बैंकको अन्य वित्तीय परिसूचकहरु पनि सन्तुलित रहेका छन् । पुँजी प्रयाप्तता अनुपात ११.८९ प्रतिशत रहेको छ । यो अंक ११ देखि १३ प्रतिशत हुनुलाई राम्रो मानिन्छ । त्यस्तै बैंकको खराव कर्जा शुन्य दशमलव ३० प्रतिशत छ । खराव कर्जा जति थोरै भयो त्यति बैंक राम्रो हुन्छ ।
बैंकको कष्ट अफ फण्ड पनि वाणिज्य बैंकहरुसँग प्रतिस्पर्धी रहेको छ । पुस मसान्तमा बैंकको कष्ट अफ फण्ड ६.२४ प्रतिशतमा झरेको छ । एक वर्षअघि ८.६१ प्रतिशत थियो । कष्ट अफ फण्ड सस्तो हुँदा बैंकले सस्तो व्याजदरमा कर्जा लगानी गर्न सक्छ । बेस रेट पनि एक वर्षअघि ११.१८ रहेकोमा हाल ८.३८ प्रतिशतमा झरेको छ ।