Home ऊर्जा प्राधिकरणले शुरू गर्‍यो वितरण प्रमुखसँग कार्य सम्पादन सम्झौता

प्राधिकरणले शुरू गर्‍यो वितरण प्रमुखसँग कार्य सम्पादन सम्झौता

by अर्थन्यूज

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाहमा सुधार ल्याउन वितरण तथा ग्राहक सेवातर्फका केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्न शुरू गरेको छ । प्राधिकरणको उच्च व्यवस्थापनले सोमवार प्रदेश नं २ को प्रादेशिक कार्यालय जनकपुरअन्तर्गतका २३ वितरण केन्द्र प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गरेको हो ।

प्राधिकरणका सञ्चालकहरू विश्वप्रकाश गौतम, राजेन्द्रबहादुर क्षत्री, भक्तबहादुर पुन, कपिल आचार्यको उपस्थितिमा सोमवार कायम मुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग प्रादेशिक कार्यालय प्रमुख मनोजकुमार सिंहले कार्यसम्पादन सम्झौता गरेका हुन् ।

वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेसँग वितरण केन्द्र प्रमुखहरूले सम्झौता गरेका हुन् । २०७४ बाट शुरू भएको कार्यसम्पादन सम्झौता चालू आवमा भने विश्वभर महामारीका रूपमा पैmलिएको कोभिड–१९ कारण समयमै शुरू हुन सकेको थिएन ।

कार्यसम्पादन सम्झौतामा विद्युत् चुहावट नियन्त्रणलाई उच्च प्राथमितामा राखी यसको अंकभार ५० राखिएको छ । कार्यसम्पादनमा राखिएका सूचकहरूको वस्तुनिष्ठ मूल्याकंन गरी शाखा प्रमुखलाई पुरस्कार र दण्ड दिने व्यवस्था गरिएको छ ।

प्राधिकरणले चालू आवमा वितरणतर्फको विद्युत् चुहावट ८ दशमलव ५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । गत आवमा वितरणतर्फको चुहावट १० दशमलव २८ प्रतिशत थियो ।

प्रादेशिक कार्यालय जनकपुरअन्तर्गतका वितरण केन्द्रहरूको गत आवमा १५ दशमलव ६ प्रतिशत रहेको विद्युत् चुहावटलाई चालू आवमा १२ दशमलव शून्य ८ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ । मङ्सिरसम्मको चुहावट भने १६ दशमलव ६ प्रतिशत छ । कार्यालयअन्तर्गतका प्रत्येक वितरण केन्द्र प्रमुखहरूलाई चुहावट नियन्त्रणको छुट्टाछुट्टै लक्ष्य दिइएको छ ।

विद्युत् विक्रीबाट प्राधिकरणले आम्दानी गर्ने राजस्वको ३१ दशमलव २३ प्रतिशत अंश प्रदेशिक कार्यालय जनकपुरले संकलन गर्छ ।

कार्यक्रममा कामु कार्यकारी निर्देशक शाक्यले विद्युत् चुहावट नियन्त्रण, राजस्व संकलन, विद्युतीकरण, ग्राहकसँगको सेवा प्रवाह सुधारका लागि दिइएका लक्ष्य पूरा गर्नेलगायत काममा केन्द्रित भई काम गर्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका थिए ।

वितरण केन्द्र प्रमुखसँगको सम्झौतामा विद्युत् चुहावट घटाउने, प्रशासनिक खर्च घटाउने, बाँकी वक्यौता असुल गर्ने, गुणस्तरीय, भरपर्दो तथा सुरक्षित विद्युत् सेवा प्रदान गर्ने, ग्राहक सेवाको स्तरवृद्धि गर्नेलगायत कार्यसम्पादन सूचाकांक निर्धारण गरिएको छ ।

हरेक प्रादेशिक कार्यालय र त्यस मातहतका वितरण केन्द्रलाई चुहावट नियन्त्रण, औसत महसुल संकलनको अवधि घटाउने विषयलाई मुख्य लक्ष्य निर्धारण गरिएको छ । कार्य सम्पादनको हरेक ४/४ महीनामा मूल्यांकन गरिने प्राधिकरणले बताएको छ ।

हरेक वितरण केन्द्रलाई चुहावट नियन्त्रण र बक्यौता असुलीमा दिइएको लक्ष्यको कम्तीमा ५० प्रतिशत प्रगति प्राप्त गरेमा प्रमुखलाई निश्चित रकम नगद प्रोत्साहन भत्तास्वरूप उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसैगरी, लक्ष्य प्राप्त गर्नेले पाएको नम्बर बढुवामा जोड्ने, विदेशमा आयोजना तालीम, सेमिनारमा जान प्राथमिकता दिनेलगायत गैरनगद प्रोत्साहनसमेत पाउनेछन् ।

तर, ५० प्रतिशतभन्दा कम लक्ष्य प्राप्त गरेमा त्यसलाई कमजोर कार्यसम्पादन मानी बढुवामा सोहीअनुसार नम्बर दिने र नगद तथा गैरनगद प्रोत्साहन नपाउनेलगायत व्यवस्था गरिएको छ । प्राधिकरणले प्रमुखहरूलाई वितरण ट्रान्सफर्मर, मिटर, केबल, पोललगायत उपकरण समयमै उपलब्ध गराउने र कानूनी परिधिभित्र रहेर स्वतन्त्रतापूर्वक काम गर्न दिने प्रतिबद्धता व्यक्त गरेको छ । सम्झौताको अनुगमन र मूल्यांकनका लागि प्रभावकारी प्रणाली बनाइने प्राधिकरणले बताएको छ । विद्युतीय सुरक्षा, आफ्नो कार्यालयअन्तर्गत ग्रामीण विद्युतीकरण, गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्तिलगायत विषय सम्झौतामा समेटिएको छ ।

बाँकी प्रादेशिक तथा दुई प्रदेश डिभिजन कार्यालय र त्यसअन्तर्गत प्रत्येक वितरण केन्द्र प्रमुखहरूसँग छिट्टै कार्यसम्पादन सम्झौता गरिने प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More