काठमाडौं – कोरोना भाइरसको महामारीकै अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्।
वैदेशिक रोजगार विभागका निर्देशक टीकामणि न्यौपानेले साउनयता उनीहरू ९७ मुलुकमा पुगेको जानकारी दिए। ‘पुनः श्रम स्वीकृति लिने बढी छन्,’ निर्देशक न्यौपानेले भने, ‘स्वदेशमा अवसर नपाएका नयाँ युवाहरू पनि विदेश जाने क्रम बढेको छ।’
कोरोना संक्रमणका कारण फागुन अन्तिमदेखि रोकिएको श्रम स्वीकृति सरकारले असार १९ गते खुला गरेको थियो।
विभागका अनुसार पुसमा १४ हजार ७५३ पुनः र ७ हजार २०९ नयाँ गरी २१ हजार ९६२ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित समाचार अनुसार मंसिरमा १२ हजार ४३१ पुनः र ४ हजार ३७७ नयाँ गरी १६ हजार ८०८, कात्तिकमा ७ हजार ७९७ पुनः र १ हजार ५८३ नयाँ गरी ९ हजार ३८०, असोजमा ८ हजार ९७ पुनः र १ हजार ५४२ नयाँ गरी ९ हजार ६३९, भदौमा करीब दुई हजार, साउनमा ३ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका हुन्।
बेलायत, जापानलगायत कतिपय मुलुकले भने कोरोनाका कारण विदेशी कामदार लैजान रोक लगाएका छन्।
कोरोनाका कारण वैदेशिक रोजगारीबाट २ लाख ४३ हजार ४५३ नेपाली स्वदेश फर्किएका छन्। कोरोना अवधिमा भारतबाट ५ लाखभन्दा बढी स्वदेश फर्किएका छन्। तर स्वदेश फर्किए पनि दैनिक जीवनयापन गर्न गाह्रो भएपछि सोही रोजगारीमा जानेको संख्या अधिक छ।
खाडी तथा मलेसियाबाट फर्केकाहरू केही अल्पकालीन रोजगारीका लागि भारत पुगेका छन्। स्वदेशमै रोजगारीमा रहेका १५ लाखभन्दा बढी बेरोजगार भएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघाईले पुरानै रोजगारी टिकाउन मुस्किल भएको बताए ।