Home ऊर्जा ५३६ मेवा क्षमताको सुनकोशी–तेस्रोको अध्ययन अन्तिम चरणमा

५३६ मेवा क्षमताको सुनकोशी–तेस्रोको अध्ययन अन्तिम चरणमा

by रासस

काभ्रेपलाञ्चोक – सुनकोशी–तेस्रो (५३६ मेघावाट) जलाशययुक्त विद्युत् आयोजना प्राविधिक अध्ययनको काम अन्तिम चरणमा पुगेको छ ।

आयोजनाको प्राविधिकतर्फको सर्वे, भौगर्भिक अध्ययन तथा आयोजना सेरोफेरोका चट्टानलगायत अन्य अवस्थाका बारेमा इञ्जिनीयरिङ डिजाइनको काम भने सकिएको विद्युत् विकास विभागले बताएको छ ।     
     
प्राविधिकतर्फ अध्ययनको काम ९० प्रतिशत सम्पन्न भएको र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) को काम बाँकी रहेको छ । विभागका इञ्जिनीयर सुवास थपलियाका अनुसार(ईआईए) अध्ययनका क्रममा वन तथा वातावरण मन्त्रालयमा कार्यसूची र क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृतिको क्रममा रहेको छ ।

कोभिड–१९ का कारण पनि सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत् आयोजना निर्माण केही प्रक्रिया पर धकेलिएको हो । “कोभिडका कारण आयोजनाको परामर्शदाता कम्पनीले फिल्डमा गएर कामगर्ने वातावरण नभएकाले इआइएको काम केही धकेलिएको हो”, थपलियाले भने ।     
     
परियोजनाको मापदण्ड तथा कार्यविवरण प्रतिवेदन (टिओआर) प्राविधिक काम सकिएलगत्तै नेपालमा कोरोना भाइरसको उच्च जोखिम बढेसँगै यसको थप प्रक्रिया रोकिएको थियो । एक नेपाली र एक चिनियाँ परामर्शदाताले सुनकोशी–तेस्रोको टिओआर भने एक वर्षअघि नै अर्थात् गत वर्ष माघमा विद्युत् विकास विभागलाई बुझाइसकेका थिए ।

टिओआरमा प्राविधिकतर्फ ‘इन्टेरियर डिजाइन’देखि सर्वेसम्मको काम सकिएको उल्लेख गरिएको छ । प्रतिवेदनमा आयोजनाबाट प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभावित घरपरवार तथा क्षेत्र र प्रभावितलाई कुन आधारमा के कस्तो ब्यवस्था गर्न सकिन्छ तथा क्षतिपूर्तिलगायतको विषयसमेत उल्लेख गरिएको छ ।     
     
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयद्वारा संयुक्तरुपमा आयोजनाको इआइएका लागि क्षेत्र निर्धारण गर्न गत साल नै प्रक्रिया शुरु गरिए पनि कोभिडका कारण एक वर्ष लम्बिएको विभागले बतायो ।

एक वर्षअघि आयोजनाबाट प्रभावित पर्नसक्ने जिल्ला, नगरपालिका तथा गाउँपालिका र वडास्थित त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्यचौकी, सरोकारवाला व्यक्ति तथा सङ्घसंस्थाबाट सुझावसमेत मागिएको थियो ।

विभागले सुनकोशी तेस्रो र सुनकोशी दोस्रो आयोजनाको अध्ययनका लागि १९ करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । दुवै आयोजना अध्ययनको काम सक्न ३३ करोड रुपियाँ लाग्ने थपलियाले बताए ।     
     
परियोजनाअन्तर्गत वागमती प्रदेशअन्तर्गतका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीको सिमाना भएर बग्ने सुनकोशी नदीमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९ को सिमाना र रामेछापको खाँडादेवी गाउँपालिका–१ लुभूघाटमा विद्युत् आयोजनाको बाँध निर्माण प्रस्ताव गरिएको छ । प्रस्तावित आयोजना सुनकोशी–३ बाट ५३६ मेघावाट विद्युत् उत्पादन हुनेछ ।

आयोजनाका लागि लुभूघाटस्थित नदीमा करीब ४८४ मिटर लामो र १६६ मिटर उचाइको बाँध निर्माण गरी ५७० घनमिटर प्रतिसेकेण्ड पानीलाई १ दशमलब १ किलोमिटर लामो र नौ मिटर ब्यास भएको सुरुङ्गबाट लुभूघाटनजिक निर्माण गरिने विद्युतगृहमा लगिनेछ भने लगभग ५३६ मेघावाट विद्युत् उत्पादनपछि सो पानीलाई टेलरेसद्वारा पुनः सुनकोशी नदीमा खसालिनेछ ।     
     
आयोजना निर्माण गर्दा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीका करीब १ हजार ६०० परिवार प्रभावित हुनसक्ने पा्ररम्भिक अध्ययनबाट देखिएको छ । आयोजनाबाट सिन्धुपाल्चोेकका तीन गाउँपालिका र दुई नगरपालिका, काभ्रेपलाञ्चोकका तीन गाउँपालिका र दुई नपा, रामेछापका दुई गाउँपालिका र सिन्धुलीको एक गाउँपालिकाका बासिन्दा प्रभावित हुनेछन् ।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका आठ वडा बाँध, विद्युतगृह र डुबानक्षेत्र पर्नेछ भने रामेछापको खाँडादेवी गाउँपालिका बाँध र डुबान क्षेत्र तथा अन्य जिल्लाका प्रभावित क्षेत्र डुवान क्षेत्रमा पर्नेछन् ।     
     
पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले आयोजनाबाट प्रभावित हुने परिवारलाई स्थानान्तरण गर्ने विषयमा सरोकारवालासँग छलफल गर्ने वातावरण तयारी चरणमा रहेको बताए ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More