Home ऊर्जा दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन निर्माण सम्पन्न

दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन निर्माण सम्पन्न

by रासस

म्याग्दी । कालीगण्डकी कोरीडोर प्रशारण लाइन आयोजना अन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइन र सबस्टेशन तयार भएको छ । 

सबस्टेशनमा जडान भएका उपकरण र प्रशारण लाइनको परीक्षण सफल भएपछि सञ्चालनका लागि तयार भएको हो । आयोजना प्रमुख चन्दनकुमार घोषले दुवै ठाउँमा निर्माण भएका सवस्टेशन र प्रशारण लाइन विद्युत् जोड्नका लागि तयार भएको जानकारी दिए । ‘सबस्टेशन चार्ज र प्रशारण लाइनको परीक्षण गरेर सकिएको छ,’ उनले भने ‘सिभिल र सामाजिक उत्तरदायित्व अन्तर्गतका केही आयोजना बाहेकको निर्माण सकिएको छ । विद्युत् जोड्न तयार भएको छ ।’ 

नेपाल विद्युत् प्राधिकरणले एशियाली विकास बैंकको सहयोगमा सन् २०१६ को ३० मेमा दाना–खुर्कोट प्रशारण लाइन आयोजना निर्माण शुरु गरेकोे थियो । सबस्टेशनसहित ३९ दशमलव ६ किलोमिटर दूरीको दाना–खुर्कोट प्रशारण लाइन र निर्माण गर्न टाटा–चिन्ट इलेक्ट्रिक जेभीले रू. दुई अर्ब ९० करोडमा ठेक्का लिएको थियो । 

करीब ११० ओटा टावर बनाएर डबल सर्किटको तार तानिएको आयोजनाका सहायक प्रबन्धक लक्ष्मण फुयाँलले बताए । ‘यो सबस्टेशनमा सबैभन्दा पछिल्लो पटक विकास भएको अत्याधुनिक प्रविधियुक्त उपकरण जडान भएको छ,’ उनले भने, ‘ट्रान्सफर्मर चार्ज सफल भएपछि घलेम्दी जलविद्युत् आयोजनाको विद्युत् सबस्टेशनमा जडान भइसकेको छ ।’ 

स्थानीय आयोजनाबाट उत्पादित विद्युत् कम क्षमताको भएकाले मोदी–चुवा हँुदै १३२ केभी क्षमताको लाइन ल्याएर खुर्कोट र दाना सबस्टेशन चार्ज गरिएको थियो । दाना सबस्टेशन अन्तर्गत पाँच मेगावाट क्षमताको घलेम्दीखोला र १३ दशमव ४ मेगावाट क्षमताको थापाखोला जलद्यिुत् आयोजना चालू छन् । 

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जनप्रतिनिधिको रोहबरमा लामो प्रयासपछि पोखरेबगरका जग्गाधनीसँग सहमति कायम गरेर आयोजनालाई पूर्णता दिइएको बताए । दाना र खुर्कोटमा चार/चार ओटा पल्टमा स्वीचार्ड बनाइएको छ । 

पावर प्लान्ट र प्रशासनिक भवनको रङगरोगन भइरहेको छ । कर्मचारी आवास र अतिथि गृहको भवन पनि निर्माणको अन्तिम चरणमा छन् । करीब १५६ रोपनी क्षेत्रफलमा फैलिएको सबस्टेशनको वरपर पक्की पर्खाल लगाएर घेराउ गरिएको छ ।  

खुर्कोटदेखि पर्वतको कुश्मा नगरपालिका–८ चुवामा निर्माण भएको १३२ केभी क्षमताको सबस्टेशन जोड्ने छ किलोमिटर लामो प्रशारण लाइनको परीक्षण सफल भइसकेको छ । म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय ग्रिडमा जोड्न सबस्टेशन र प्रशारण लाइन निर्माण भएको हो । 

नवलपरासीको बर्दघाटदेखि म्याग्दीको दानासम्म १४२ किलोमिटर प्रशारण लाइन निर्माण गर्ने लक्ष्यअनुसार खुर्कोटदेखि बर्दघाटतर्फ पनि प्रशारण लाइन निर्माण भइरहेको छ । कालीगण्डकी कोरीडोर प्रशारण लाइन आयोजनाले कालीगण्डकी र सहायक नदीहरुमा विद्युत् विकासमा महत्वपूर्ण सहयोग पुग्ने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । 

म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी ‘ऊर्जा नदीमा’ रुपान्तरण हुदैछ । प्रस्तावित जलविद्युत् आयोजना निर्माण भएमा म्याग्दीको अधिकांश भूगोलमा कालीगण्डकी नदी सुरुङबाट बग्नेछ । मुस्ताङदेखि पर्वतको सिमानासम्मको म्याग्दी खण्डमा कालीगण्डकी नदीबाट पाँचओटा जलविद्युत् आयोजना निर्माणको तयारी भएको हो । 

‘घाँसादेखि मिलनचोकसम्म कालीगण्डकीमा ३०० मेगावाट भन्दा बढी क्षमत्ताका जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा छन्’ केसीले भने, ‘म्याग्दीको विकास र सम्वृद्धिका लागि यो खुशीको विषय हो ।’ चिनियाँ लगानीमा निर्माण हुन लागेको १६४ मेगावाट क्षमताको नेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना जिल्लामा हालसम्मकै सबैभन्दा ठूलो आयोजना हो । कालीगण्डकी गर्जको विद्युतगृहबाट निस्किएको पानी करीब ५०० मिटरभित्रै हाईड्रो सपोर्ट प्रालीले निर्माण गर्न लागेको ५३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको बाँधबाट सुरुङमा छिराइने छ । 

अन्नपूर्ण गाउँपालिका–२ ठूलोबगर र –६ पोखरेबगरको सिमानामा बाँध र सात हिस्तानको तिप्ल्याङमा विद्युत्गृह रहने गरी तिप्ल्याङ कालीगण्डकी हाईड्रोपावर प्रालिले ५८ मेगावाट क्षमताको तिप्ल्याङ कालीगण्डकी जलविद्युत् आयोजना निर्माणको तयारी गरेको छ । 

टे«ड लिंक ग्लोबल प्रालिले रघुगंगा गाउँपालिका–१ र अन्नपूर्ण गाउँपालिका–७ को सिमाना बेगखोलामा बाँध र रघुगंगा गाउँपालिका–३ घुमाउनेतालमा विद्युत्गृह रहने ६५ मेगावाट क्षमताको अपर कालीगण्डकी जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढाएको छ । घुमाउने तालभन्दा केही तल रघुगंगा नदी कालीगण्डकीमा मिसिने दोभानभन्दा केही तल बाँध र जलजला गाउँपालिका–४ मिलनचोकमा विद्युत्गृह रहने गरी ५० मेगावाट क्षमताको बेनी कालीगण्डकी जलविद्युत् आयोजनाको सर्वेक्षण भइरहेको छ । 

दाना सबस्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादनको तयारी गरेको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवर्द्धक रहेको मिस्ट्रीखोलामा निर्माण भएका संरचना तथा जडान गरिएका उपकरणको परीक्षण अन्तिम चरणमा पुगेको छ । 

‘बाँध र क्यानल (पानी थिग्राउने पोखरी) को यसअघि नै परीक्षण सफल भइसकेको छ,’ उनले भने, ‘परीक्षणका लागि सुरुङ र पेनस्टक पाइपमा हालिएको छ ।’ विद्युत्गृहमा जडान भएको जेनेरेटर, टर्वाइन र ट्रान्सफर्मरको पनि परीक्षण भइरहेको छ । आयोजनाका प्रतिनिधि चुडामणि निरौलाले करीब दश दिनभित्र संरचना र उपकरणको परीक्षण सकेर विद्युत् उत्पादन शुरु गर्ने कार्यतालिका बनाएको बताए । 

सन् २०१६ को जुन १३ मा शुरु भएको आयोजनाले निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएर दुई हजार २७० दशमव ५ मिटर सुरुङ र २५० मिटर उचाइबाट पानी खसालेर विद्युत् उत्पादन गर्न एक हजार ५०० मिटर पेनस्टक पाइप जडान गरेको छ ।  

बेँशीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा बनाएको विद्युत्गृह नजिकै स्विचार्ड निर्माण गरेको छ । बाँध क्षेत्रमा ११५ मिटर लम्बाइ, ८ दशमलव ५ मिटर चौडाइ र १३ मिटर गहिराई भएको दुई ओटा भूमिगत बालुवा थिग्राउने पोखरी (क्यानल) बनाएको छ । बेँशीगाउँदेखि दानास्थित २२० केभी क्षमताको सबस्टेशनसम्म १३२ केभी क्षमताको ४ किलोमिटर प्रशारण लाइन निर्माण गरेको छ । 

११ टामध्ये गत वर्षामा आएको बाढीले एक ओटा टावर ढलाएको र अर्को कटानको जोखिममा परेको थियो । जोखिममा परेको टावर स्थानान्तरण र ढलेको पुनःनिर्माण सकिएको छ । मिस्ट्रिखोलाको अनुमानित लागत रू. पाँच अर्ब ६४ करोड हो ।   

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन १०९ मेगावाट क्षमताको निलगिरि १ र २ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोड्न प्रशारण लाइन निर्माणको तयारी भएको छ । निलगिरिखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेका ३८ मेगावाटको निलगिरिखोला–१ र ७१ मेगावाट क्षमताको निलगिरिखोला–२ जलविद्युत् आयोजनाको विद्युत्गृहदेखि अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको सबस्टेशन जोड्ने प्रशारण लाइन निर्माण हुन लागेको हो । 

करीब २२० केभी क्षमताको ७ दशमलव ४ किलोमिटर दूरीको प्रशारणलाइन निर्माण गर्न रु १२ करोड ७८ लाख ९२ हजार ७२३ लागत अनुमान गरिएको परामर्शदाता इनर्जी रिसोर्सेस एण्ड सोलुसन प्रालिका शंकर बस्यालले बताए ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More