Home मौसम डोल्पामा वर्षातसँगै हिमपात: हवाई सेवा बन्द, जनजीवन पनि प्रभावित

डोल्पामा वर्षातसँगै हिमपात: हवाई सेवा बन्द, जनजीवन पनि प्रभावित

by रासस

डोल्पा – हिमाली जिल्ला डोल्पामा भारी वर्षातसँगै हिमपात भएको छ ।

बिहीवार दिउँसोदेखिको बदलीसँगै रातिदेखि वर्षात् र हिमपात शुरु भएको हो । जिल्लाका त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुँ, चुँ, जिंउ, लिकु, पहाडा, बन्तडीलगायत बस्ती हिउँले सेताम्य भएको छ । त्यसैगरी तल्लो डोल्पामा पर्ने ठूलीभेरी नगरपालिका, काइके, जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पर्ने अधिकांश क्षेत्र हिउँले ढाकिएका छन् ।
     
उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङ्सोङ र शे–फोक्सुण्डो गाउँपालिकामा पनि बाग्लो हिउँ जमेको छ । हिमपातका कारण उपल्लो डोल्पाको जनजीवन कष्टकर भएको शे–फोक्सुण्डो गाउँपालिकाका वडाध्यक्ष निमा लामाले बताए ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने भएकाले पनि उपल्लो डोल्लामा कात्तिक अन्तिमदेखि नै हिउँ पर्न शुरु भएको र आजसम्म दर्जन धेरै पटक हिमपात भइसकेको उनको भनाइ छ । हिंउदको समय कट्नै लाग्दा माघमा परेको हिमपातका कारण गाउँबस्ती मात्र नभई अग्ला हिमाल, डाँडाकाँडा, वनजङ्गल हिउँले सेताम्य र मनमोहक देखिएका छन् ।

मौसममा अझै सुधार नभएकाले फेरी पनि हिमपात हुने सम्भावना देखिएको छ । हिमाली जिल्लामा प्रत्येक वर्ष जलवायु परिवर्तनका असर बढ्न थालेको बताइएको छ । हिमाली जिल्लामा आठ दश वर्षअघिसम्म हिउँदको दुई महीनामै सात/ आठ पटक हिउँ पर्ने भए पनि अहिले एक पटक पनि मुस्किलले हिउँ पर्ने गरेको जलवायु परिवर्तनका क्षेत्रमा काम गर्दै आएका ताराप्रसाद आचार्यले बताए।

हिमालमा हिउँ नपर्नु, तालतलैया नदीनालाका सतह घट्नु, हिमाल सुक्खा र नाङ्गा देखिनु जलवायु परिवर्तनको असर भएको उनको भनाइ छ ।
     
कृषक उत्साहित     

लामो समयपछि परेको हिमपातका कारण डोल्पाली कृषक उत्साहित भएका छन् । हिउँले ढपक्क हुनुपर्ने हिउँदकै समयमा वर्षात् र हिमपात नभएर खेतबारीमा लगाएको अन्नबाली सुक्न थालेपछि वर्षभरी कसरी गुजारा गर्ने भनेर कृषक चिन्तित भएका थिए ।     

जिल्लाभरि नै बिहीवार रातिदेखि शुरु भएको वर्षातसँगै भएको हिमपातका कारण आलु, गहुँ, जौ, उवालगायत अन्नबाली सप्रिनुका साथै उत्पादनमा समेत वृद्धि हुने आशा गरिएको त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीय कृषक भीमप्रसाद देवकोटाले बताए।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More