Home कर्पोरेट बन्द ११ एयरलाइन्सलाई बक्यौता तिर्न प्राधिकरणको ताकेता

बन्द ११ एयरलाइन्सलाई बक्यौता तिर्न प्राधिकरणको ताकेता

by अर्थन्यूज

काठमाडौं । नेपाल नागरिक उड्डन प्राधिकरणले हाल सञ्चालनमा नभएका विभिन्न ११ ओटा एयरलाइन्स कम्पनीलाई वक्यौता रकम बुझाउन ताकेता गरेको छ । पटकपटक बक्यौता रकम बुझाउन सूचना गरिए पनि कम्पनीहरूले रकम नबुझाएको भन्दै प्राधिकरणले ३० दिनभित्र भुक्तानी गर्न अल्टिमेटम दिएको छ ।

प्राधिकरणले सोमवार सूचना जारी गर्दै नेकोन, शिवानी, अल्पाइन, गोरखा, कर्णाली, माउन्टेन, कस्मिक, सांग्रिला, स्काइलाइन, एयर काष्ठमण्डप, नेपाल एयरवेजलाई तोकिएको समयावधिभित्र बक्यौता बुझाउन निर्देशन दिएको हो ।

यी कम्पनीले प्राधिकरणलाई कुल रू. ९ करोड ६८ लाख ७४ हजार रकम भुक्तानी गर्न बाँकी छ । यी कम्पनीहरूले मुलुकभरका विभिन्न २० ओटा विमानस्थल प्रयोग गरे वापतको शुल्क नागरिक उड्डयन कार्यालयहरूलाई तिर्न बाँकी रहेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिए । उनले बन्द भइसकेका कम्पनीहरूलाई वक्यौता तिर्न पहिला कडाइ नगरेको तर पटकपटकको आग्रहलाई बेवास्ता गरेपछि अहिले प्राधिकरणले समयावधि नै तोकेर भुक्तानीका लागि निर्देशन दिएको बताए ।

‘सञ्चालनमा हुँदा विमानस्थल सेवा शुल्क तिर्ने गरेका थिए,’ उनले भने, ‘कम्पनीले सेवा बन्द भएपछि बाँकी रहेको रकम भुक्तानी गर्नुपर्दैन भनेर उहाँहरू बस्नु भएको होला, तर बाँकी रहेको बक्यौता रकम असुलउपर गर्नुपर्छ ।’ यसका लागि प्रक्रिया शुरू भइसकेको भन्दै उनले तोकिएको समयमा नतिरे आगामी कदम कस्तो हुन्छ भन्ने विषयमा छलफल गरिने बताए ।

प्राधिकरणले जारी गरेको सूचनाअनुसार प्रचलित कानूनबमोजिम बक्यौता नतिर्ने कम्पनीलाई भविष्यमा हवाई सेवामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राख्नेसम्मको कारबाही हुनेछ । यस्तै विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको कार कारबाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखिने प्राधिकरणले उल्लेख गरेको छ । साथै कम्पनीहरूका सञ्चालक, निज एकाघरका परिवारको तथा जमानी बस्नेहरूको जायजेथाबाट पनि रकम असुलउपर गरिने प्राधिकरणले बताएको छ ।

प्राधिकरणका अनुसार यी कम्पनीहरूले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, पोेखरा, भरतपुर, नेपालगञ्ज, जुम्ला, डोल्पा, रूकुम, तेन्जिङ हिलारी, सिमिकोट, धनगढी, विराटनगर, लामीडाँडा, रुम्जाटार, ताप्लेजुङ, तुम्लिङटार, गौतमबुद्ध, रारा, जनकपुर, सुर्खेत, चन्द्रगढी र प्रधान कार्यालय र वायुयान सञ्चालन कोषमा उक्त रकम तिर्नुपर्नेछ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More