Home कृषि १२ लाख ३८ हजारको लागतमा इलाममा धान भण्डारण गृह निर्माण हुँदै

१२ लाख ३८ हजारको लागतमा इलाममा धान भण्डारण गृह निर्माण हुँदै

by रासस

इलाम – इलामस्थित चुलाचुली गाउँपालिकामा धान भण्डारण गृह निर्माण भइरहेको छ । किसानलाई धान भण्डारण गर्न सहज बनाउनका लागि कृषि ज्ञान केन्द्रको अगुवाइमा भण्डारण गृह निर्माण थालिएको हो । 

गत पुसको पहिलो साताबाट निर्माण शुरु भएको भण्डारण गृह यही माघसम्ममा सकिने छ । सञ्चालक समिति चुलाचुली र ज्ञान केन्द्रको ५०/५० प्रतिशत खर्चमा बन्ने भवनको कुल लागत रू. १२ लाख ३८ हजार हो । चुलाचुली इलामकै बढी धान उत्पादन हुने क्षेत्र हो । किसानलाई सर्वसुलभ मूल्यमा धान बेच्नका लागि भण्डारण गृह आवश्यक परेको हो ।

यहाँका किसानले झापा र मोरङमा धान बेच्छन् । ठूलो परिमाणमा एकैपटक बेच्दा बढी मूल्य पर्नाले भण्डारण गृह आवश्यक परेको उपभोक्ता समिति चुलाचुलीका संयोजक त्रिलोचन गौतमले बताए । सहकारीमार्फत यहाँका किसानले धान विक्री गर्छन् । भण्डारण गृह निर्माणपछि धान केलाउन र गे्रडिङ गर्न सहज हुने गौतमले जानकारी दिनुभयो । भण्डारण गृह एकतले र तीनकोठे हुनेछ । 

झापा र मोरङका विभिन्न स्थान लगेर यहाँका किसानले धान बेच्ने गरेका छन् । धानमात्र होइन भण्डारण गृहमार्फत धान पेलेर चामल बेच्ने प्रबन्ध पनि मिलाउँदै गरेको संयोजक गौतमको भनाइ छ ।

इलामकै अन्न खानी भनेर चिनिने यो क्षेत्र झापा जिल्लाको सीमावर्ती जिल्ला हो । तराईको फाँट भएकाले पनि यहाँका ९५ प्रतिशत किसानले धानखेती गर्छन् ।

इलामको तल्लो भेग भएकाले जिल्लास्थित ज्ञान केन्द्रमार्फत पाउने सुविधा नपाउने गरेको यहाँका किसानको गुनासो छ तर पछिल्लो समय केन्द्रकै अगुवाइमा यस्ता काम हुन थालेपछि किसान केही सकारात्मक देखिन थालेका छन् । गएको वर्ष पनि ज्ञान केन्द्रले यहाँका किसानलाई धान बोक्ने ट्र्याक्टर वितरण गरेको थियो ।

‘धान भए धान नै, नभए चामल बनाएरै बेच्ने व्यवस्था पनि गरिने छ’, कृषि ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले भने, ‘खलामै गएर किन्ने व्यवस्था पनि छ । यसले गर्दा किसानलाई बढी नाफा हुन्छ ।’

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More