Home लगानि पूर्वाधार क्षेत्रमा लगानी गर्न १० अर्बको कोष सञ्‍चालनमा ल्याउने, सरकारले ५ % लगानी गर्ने

पूर्वाधार क्षेत्रमा लगानी गर्न १० अर्बको कोष सञ्‍चालनमा ल्याउने, सरकारले ५ % लगानी गर्ने

by अर्थन्यूज

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपियाँको कोष स्थापना गरी सञ्‍चालनमा ल्याउने तयारी गरिएको छ । त्यसका लागि गैरआवासीय नेपाली संघले नेपालमा छुट्टै कम्पनी दर्ताको कार्य अघि बढाएको छ ।  

अर्थ मन्त्रालयमा बिहीवार बसेको बैठकमा यसरी स्थापना हुने कम्पनीमार्फत उक्त कोषमा सरकारको तर्फबाट पूर्व सहमति बमोजिम पाँच प्रतिशत लगानी गर्ने निर्णय भएको छ । 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल उक्त कोष सञ्‍चालन गर्न रकम सहित आवश्यक अन्य सहयोग गर्ने बताउँदै एक हप्ताभित्र कम्पनीको दर्ता प्रक्रिया टुङ्गो लगाएर काम शुरु गर्न गैरआवासीय नेपाली संघका प्रतिनिधिलाई आग्रह गरेका छन् ।

सो अवसरमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले अहिले कम्पनी दर्ताको प्रक्रिया रहेको बताउँदै छिट्टै दर्ता भइ काम शुरु हुने बताए । उनका अनुसार कम्पनीमा गैरआवासीय नेपाली संघको १० प्रतिशत शेयर रहनेछ भने ८५ प्रतिशत विदेशमा रहेका नेपालीहरुको शेयर हुनेछ । गैरआवासीय नेपालीहरुले गर्ने लगानीका लागि आर्इपीओ जारी गरिनेछ ।

अध्यक्ष पन्तले लगानीका क्षेत्रहरुबारे पनि प्रस्तावहरु आइसकेको जानकारी दिएका छन् । उनले विदेशमा रहेका नेपालीहरु नेपालमा पूर्वाधारको क्षेत्रमा लगानी गर्न उत्सुक रहेको बताए। 
 
बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, अर्थ सचिव शिशिरकुमार ढुङ्गाना, राजस्व सचिव रामशरण पुडासैनी,  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा प्रकाशकुमार श्रेष्ठ,  लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट लगायतको सहभागिता थियो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More