Home उद्योग लघु तथा घरेलु उद्योगमा बन्दाबन्दीको प्रभाव अधिक

लघु तथा घरेलु उद्योगमा बन्दाबन्दीको प्रभाव अधिक

by अर्थन्यूज

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको एक अध्ययनले बन्दाबन्दीको अवधिमा सबैभन्दा बढी लघु तथा घरेलु उद्योगहरू प्रभावित भएको देखाएको छ । सरकारले गरेको बन्दाबन्दी र त्यसपछिको समयमा समेत उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन नभएको पाइएको भन्दै मन्त्रालयले त्यसमध्ये पूर्ण बन्द भएका उद्योगहरूमा लघु तथा घरेलु उद्योगको संख्या ७५ प्रतिशत रहेको उल्लेख गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) ले उद्योग क्षेत्रमा पारेको प्रभावको संक्षिप्त अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । यस अध्ययनमा जम्मा ३७ ओटा उद्योगको सहभागिता थियो । त्यसमध्ये लघु उद्यम तथा घरेलु उद्योग १७, साना उद्योग ८, मझौला उद्योग ४ र ठूला ८ ओटा उद्योग थिए । मन्त्रालयको अध्ययन प्रतिवेदनअनुसार १० दशमलव ८१ प्रतिशत पूर्ण बन्द भएको र ८९ दशमलव १९ प्रतिशत उद्योग व्यवसाय आंशिक रूपमा सञ्चालनमा आएका थिए । यीमध्ये पूर्ण बन्द भएका उद्योगमा लघु तथा घरेलु उद्योगको अंश अधिक देखिएको हो ।

सरकारले नेपालमा कोराना भाइरस नियन्त्रणका लागि भन्दै २०७६ चैत ११ देखि बन्दाबन्दी घोषणा गरेको थियो । बन्दाबन्दी साउनमा खुला गरिएको भए पनि त्यसको केही सातामै सरकारले पुनः निषेधाज्ञा जारी गरेको थियो । यस अवधिमा उद्योगहरू पूर्णरूपमा सञ्चालन हुन नपाउँदा र कतिपय त बन्द नै हुँदा उद्योगहरूको समग्र उत्पादन क्षमतामै उल्लेख्य ह्रास आएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सर्वेक्षणमा सहभागी उद्योगमध्ये ५४ प्रतिशत उद्योगको ५० प्रतिशतले उत्पादन क्षमतामा ह्रास आएको छ । यस्तै ३२ दशमलव ४३ प्रतिशत उद्योगहरूको उत्पादनमा ७५ प्रतिशतसम्म घटेको अध्ययनले देखिएको छ । यसैगरी २३ दशमलव ५२ प्रतिशत लघु घरेलु उद्योगको उत्पादन क्षमता पनि ७५ प्रतिशतले खुम्चिएको पाइएको छ । यस्ता खाले उद्योगहरूले कोरोना महामारीका कारण उत्पादनमा असर गरेको उल्लेख गरेका छन् । यसका साथै कच्चापदार्थ उपलब्धतामा पनि कठिनाइ भएको उल्लेख गरिएको छ ।

यस्तै साना उद्योगहरूको पनि उस्तै समस्या रहेको पाइएको छ, जसअनुसार ८७ दशमलव ५ प्रतिशत साना उद्योगहरूले उत्पादनमै प्रत्यक्ष असर गरेको उल्लेख गरेका छन् । ७५ प्रतिशत साना उद्योगहरूलाई कच्चा पदार्थ प्राप्तिमै कठिन भएको र श्रमिकहरू परिचालन र उत्पादनको बजारीकरणमा पनि उस्तै असर परेको उल्लेख गरेका छन् ।

कोरोनाका कारण व्यवसायमा परेको प्रभावलाई न्यूनीकरण गरी उद्योग व्यवसायलाई पुरानै लयमा फर्काउन ब्याजदरमा विशेष छूट, सहुलियत दरमा ऋण, करमा छूट, विद्युत्को डिमान्ड शुल्क तय गर्दा उत्पादनका आधारमा गरिनुपर्ने, कर्जा तिर्नुपर्ने अवधि थप गर्नुपर्नेलगायत माग गरेका छन् ।

साथै उनीहरूले विद्युत् महसुल कम गर्न, कम्तीमा २ वर्ष श्रमिकको न्यूनतम ज्यालामा वृद्धि नगर्न, अन्तःशुल्क र भ्याटको दर पुनर्मुल्यांकन गर्न पनि सरकारसँग माग राखेका छन् । यस्तै प्रतिवेदनले पनि यी मागहरू सम्बोधन गर्न र सरकारले घोषणा गरेका सबै सहुलियत तुरुन्त प्रदान गर्नसमेत सुझाव दिएको छ ।

श्रोतः अभियान दैनिक

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More