Home बीमा नेपाल लाईफद्वारा ६ महीनामा १७ अर्बभन्दा बढी बीमाशुल्क आर्जन

नेपाल लाईफद्वारा ६ महीनामा १७ अर्बभन्दा बढी बीमाशुल्क आर्जन

by अर्थन्यूज

काठमाडौं – चालू आर्थिक वर्षको ६ महीनासम्ममा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रू. १७ अर्ब ४० करोड ६९ लाख ७२ हजार कुल बीमाशुल्क आर्जन गरेको छ ।

गत वर्ष यसै अवधिसम्म कम्पनीले रू. १४ अर्ब ७ करोड २४ लाख ३३ हजार कुल बीमाशुल्क आर्जन गरेको थियो । गत वर्षको ६ महीनाको तुलनामा यस वर्ष कम्पनीले २३ दशमलव ७० प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको हो ।

गत वर्ष यो अवधिसम्म रू. ३ अर्ब १९ करोड ६९ लाख ४१ हजार कुल दाबी भुक्तानी गरेको उक्त कम्पनीले यस वर्ष रू. ५ अर्ब २४ करोड ५४ लाख ५६ हजार कुल दाबी भुक्तानी गरेको छ । कुल दाबी भुक्तानी रकम पनि गत वर्षभन्दा ६४ प्रतिशत बढी भएको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. ७ अर्ब १९ करोड ९९ लाख ७० हजार कायम भएको छ । यस वर्षको ३१ प्रतिशत बोनस शेयरलाई पनि कम्पनीले वित्तीय विवरणमा पूँजीकरण गरेको छ ।

उक्त बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भने सूचीकृत हुन बाँकी रहेको छ । कम्पनीको माघ २८ गतेको वार्षिक साधारण सभाले उक्त बोनस शेयर पारित गरेको हो । गत वर्षभन्दा ५९ दशमलव ७२ प्रतिशत कम रू. १ अर्ब ५ करोड ३४ लाख ५७ हजार जगेडा कोष रहेको कम्पनीको जीवन बीमा कोष भने साढे ३० प्रतिशत बढेर रू. १ खर्ब १ अर्ब २८ करोड ६५ लाख ४३ हजार पुगेको छ ।

चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ११ दशमलव ९४ र प्रतिशेयर नेटवर्थ रू. १२२ दशमलव ९५ रहेको छ । उक्त कम्पनीले नेपालको इतिहासमै पहिलो पटक शेयर खण्डिकरणको तयारी गरेको छ । कम्पनीले प्रतिशेयर अंकित मूल्य रू. ५० कायम गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More