Home साधारण सभा एनबीआईको १४औं वार्षिक साधारणसभा सम्पन्न

एनबीआईको १४औं वार्षिक साधारणसभा सम्पन्न

by अर्थन्यूज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकार निजीक्षेत्रसँगको सहकार्यलाई थप गति र नयाँ उचाइ दिन तत्पर रहेको बताएका छन् । राष्ट्रिय व्यावसायिक पहल (एनबीआई)को बिहीवार सम्पन्न १४औं वार्षिक साधारणसभाको अवसरमा मन्त्री भट्टले सरकार र निजीक्षेत्रबीच सहकार्यको दायरा बढाउनुपर्नेमा जोड दिएका हुन् ।

मन्त्री भट्टले कृषिमा पूँजीको बन्देज र विभिन्न शर्तहरू राखेर वैदेशिक लगानी खुला गरिएको भन्दै मन्त्री भट्टले व्यवसायीको सुझाव कार्यान्वयन गर्न सरकार सदैव तयार रहेको बताए ।

समारोहमा एनबीआईका अध्यक्ष कुशकुमार जोशीले कोभिड–१९ को संक्रमणपछि व्यवसायमा परेको नकारात्मक असरबारे विस्तृत अध्ययन गरी समाधानको सम्बन्धमा संस्थाले अध्ययन प्रतिवेदन तयार गरेको बताए । प्रतिवेदनमा औंल्याइएका विषयको कार्यान्वयनमा सरकारले ध्यान दिने विश्वास व्यक्त उनले पछिल्लो भएका बन्दहड्ताल जस्ता कार्यक्रमले व्यवसाय सञ्चालनमा बाधा पुगेकोतर्फ ध्यानकर्षण गराए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले कोभिडको भार निजीक्षेत्रले बोक्नुपरेको भन्दै दोहोरो कानूनले व्यवसायमा झन्झट थपिएको औंल्याए । नेपाल उद्योग परिसंघका उपाध्यक्ष विष्णु अग्रवालले साना व्यवसायले पुनकर्जा पाउन कठिन भएकाले सरलीकरण हुनुपर्नेमा जोड दिए ।

नेपाल साना तथा घरेलु उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले कोभिडबाट सबैभन्दा बढी असर साना तथा घरेलु व्यवसायमा परेकाले त्यसतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए ।

सो अवसरमा विज्ञ आकाश श्रेष्ठले लघु, साना तथा मझौला व्यवसायको पुनरुत्थानबारे अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै पछिल्लो समयमा व्यवसाय सञ्चालन सुधारोन्मुख अवस्थामा देखिएको उल्लेख गरे । समारोहमा मन्त्री भट्टले एनबीआईद्वारा प्रकाशित कोभिड–१९ को प्रभावमा परेका साना, मझौला तथा लघु उद्यमको पुनःस्थापना गर्न आवश्यक नीतिगत परिमार्जन सम्बन्धी निजीक्षेत्रले अघि सारेका सल्लाह सुझाव सहितको प्रतिवेदन विमोचन गरेका थिए ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More