Home विकास भूकम्पले क्षतिग्रस्त सिंहदरबार ७० महीनापछि भयो पुनर्निर्माण

भूकम्पले क्षतिग्रस्त सिंहदरबार ७० महीनापछि भयो पुनर्निर्माण

by अर्थन्यूज

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित सिंहदरबार तीन ओटा मोहडाको उद्घाटन गर्नुभएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनर्निर्माण सम्पन्न भएपछि सोमवार उहाँले उद्घाटन गर्नुभएको हो ।     

 सो अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारका तीनवर्षे कार्यकालका विषयमा जानकारी गराउनुभएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पश्चिमबाहेकका तीन ओटा मोहडाको लागत ८७ करोड रुपियाँमा पुनर्निर्माण भएको हो ।

उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय यही भवनमा सर्ने जनाइएको छ । भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरमै रहेको तत्कालीन स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको थियो ।     

 पुनर्निर्माण सम्पन्न भई उद्घाटन भएका मोहडा विसं २०३० को आगलागीमा परेपछि विसं २०३७ मा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री प्रयोग गरी पुरानै स्वरुपमा पुनर्निर्माण गरिएको थियो । भौतिक प्रबलीकरणपछि अत्याधुनिक सुविधासम्पन्न बनाउन भवनमा आपत्कालीन तथा अग्नि नियन्त्रक संयन्त्र राखिएको छ ।

कार्यालयमा २४ सै घण्टा उपलब्ध हुने ताजा हावासहितको वातानुकूलन प्रणालीसमेत जडान गरिएको छ । सिंहदरबार पुनर्निर्माण कार्यान्वयन गराइरहेको प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहका अनुसार दुई चरणमा ठेक्का व्यवस्थापनमार्फत तीन मोहडाको पुनर्निर्माण भएको हो ।     

 उत्तर, दक्षिण र पूर्व खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री जस्तै सिमेण्ट, बालुवा, छड, ‘बोण्डिङ केमिकल’ प्रयोग गरी पुरानै स्वरुप नबिग्रिने गरी प्रबलीकरण गरिएको उनले जानकारी दिए निर्माण कम्पनी शर्मा–न्यू टेक्निकलले प्रथम चरणको काम गरेको तथा शर्मा–माइक्रोटेक–न्यू टेक्निकल जेभीले दोस्रो चरणको काम गरेको एकाइले बताइएको छ ।     

 पश्चिम मोहडाको प्रबलीकरण जारी     

आगलागीबाट बचेको पश्चिम मोहडाको पुरानै प्रविधि तथा निर्माण सामग्री प्रयोग गरी प्रबलीकरण भइरहेको छ । सो भाग भत्काएर नयाँ बनाउने वा प्रबलीकरण गरी पुनर्निर्माण गर्ने विषयमा आवश्यक अध्ययन तथा विज्ञबीच छलफलले समय लिएको थियो ।     

 सम्पदा संरक्षणको दृष्टिकोणले पुरानै शैली र स्वरुपमै बचाउन प्रबलीकरण नै गर्न उपयुक्त भएको निष्कर्ष आएपछि प्राधिकरणबाट प्रबलीकरण भइरहेको छ । विसं २०७६ असोज २७ गतेदेखि शुरु भएको पश्चिम मोहडाको पुनर्निर्माणको हालसम्म ५० प्रतिशत प्रगति भइसकेको छ ।

मूल्यअभिवृद्धि करबाहेक करीब ४६ करोड ८८ लाख रुपियाँमा शर्मा–गौरी पार्वती–न्यू टेक्निकल जेभीले पश्चिम भागको प्रबलीकरण गरिरहेको छ । आगामी असारसम्म पश्चिमी मोहडाको काम पनि सक्ने जानकारी गराइएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More