रोम – इटालीका प्रधानमन्त्री मारियो ड्रागीले कोरोनाभाइरसबाट प्रभावित इटालीको अर्थतन्त्रलाई जोगाउन विशेष राहत योजना बुधवार सार्वजनिक गर्ने तयारी गरेका छन् ।
यूरोपेली केन्द्रीय बैंक (ईसीबी) का पूर्व प्रमुख समेत रहेका प्रधानमन्त्री ड्रागीले विश्वासको मत लिनुअघि सिनेटमा सम्बोधन गर्नेछन् ।
इटालीका सबैजसो प्रमुख राजनीतिक दलहरुले ड्रागीलाई समर्थन जनाइसकेकाले विश्वासको मत प्राप्त गर्न उनलाई कठिन हुने छैन । इटालीले ७३ वर्षीय अर्थशास्त्री ड्रागीबाट निकै बढी आशा गरेको छ ।
ड्रागीले इटालीको ३०औं प्रधानमन्त्रीका रुपमा शनिवार सपथ लिएका थिए । करीब एक महीनाको राजनीतिक खिचातानीपछि ड्रागी इटालीको प्रधानमन्त्रीमा चयन भएका हुन् ।
इटालीमा कोरोनाभाइरसको महामारीबाट मृत्यु हुनेको संख्या झण्डै १ लाख पुगेको छ । बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा देखिएको नयाँ स्वरुपको कोरोनाभाइरसका कारण इटालीमाथि पनि चुनौती थपिएको छ ।
यसैबीच, इटालीको अर्थतन्त्र गत वर्ष झण्डै ९ प्रतिशतले संकुचित भएको छ । यूरोपेली मुलुकका मुलुकहरुमध्ये इटालीको अर्थतन्त्रको संकुचन निकै खराब हो । यहाँ करीब ४ लाख ५० हजारको रोजगारी गुमेको छ जसमा अधिकांश महिला र युवा छन् ।
फेब्रुअरी ३ मा प्रधानमन्त्रीमा चयन भएपछि दिएको संक्षिप्त मन्तव्यमा प्रधानमन्त्री ड्रागीले मुलुकमा सामु उत्पन्न कठिन चुनौतीका दिनमा राष्ट्रिय एकताका लागि आग्रह गरेका थिए ।
इटालीले यूरोपेली यूनियनको कोरोनाभाइरस पुनरुद्धार कोषबाट २ खर्ब ४० अर्ब डलरभन्दा बढी रकम प्राप्त हुने आशा गरेको छ । तर यसको बदलामा इटालीले निकै कठिन वा अलोकप्रिय सुधारका कार्यक्रम अघि सार्नु पर्नेछ । रासस/ एएफपी