कोभिड पीडितलाई प्रभु बैंकले सहुलियतपूर्ण कर्जा दिने भएको छ । आइडिया स्टुडियोसँगको सहकार्यमा पहिलो चरणमा बैंकले खुम्बुका २४ जना पर्यटन व्यवसायी तथा ट्रेकिङ गाइडलाई विनाधितो कर्जा उपलब्ध गराएको हो । कोभिडले असर पारेको क्षेत्र पहिचान गरी बैंकले विनाधितो सहुलियत ऋण उपलब्ध गराएको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए । बैंकले अहिले जनही एक लाख रुपैयाँ कर्जा उपलब्ध गराएको हो ।

उनले अहिले सुरुआत गरे पनि साह्रोगाह्रो परेका व्यवसायी तथा मजदुरहरूलाई चरणवद्ध रूपमा कर्जा उपलब्ध गराउने बताए । शेरचनले व्यापार व्यवसायको चाहना र उपयुक्त योजना भएकाहरूलाई बैंकले सहयोग गर्ने प्रतिवद्धता पनि जनाए । यसअघि पनि आइडिया स्टुडियो र बैंकले कोभिडका कारण समस्यामा परेका टेम्पोचालक तथा शिक्षकहरूलाई विनाधितो कर्जा उपलब्ध गराएको थियो । आइडिया स्टुडियोका संस्थापक डा. छिरिङ लामाले प्रभु बैंकसँगको सहकार्यमा आफूहरूले अति प्रभावित क्षेत्र पहिचान गरी कर्जा उपलब्ध गराइरहेको तथा तल्लो तहको रोजगारी गुम्न नदिन प्रयास गरिरहेको बताए ।