फाल्गुन ९ आइतबारको शेयर बजारमा जलविद्युत कम्पनीका लगानीकर्ताले तुलनात्मक रुपमा बढी मूल्य कमाएका छन्।
सबैभन्दा धेरै १० प्रतिशत मूल्य बढेका ७ कम्पनीमा ३ वटा जलविद्युत कम्पनी छन्।
यस दिन माथिल्लो तामाकोसीको मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५३९ रुपैयाँ कायम भएको छ।
त्यस्तै शिवश्री हाइड्रोका लगानीकर्ताले पनि १० प्रतिशत मूल्य कमाए। सो कम्पनीको मूल्य प्रतिकित्ता १८७ रुपैयाँ पुगेको छ।
इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को मूल्य करिब १० प्रतिशतले बढेर प्रतिकित्ता ६ सय रुपैयाँ कायम भएको छ।
नेपाल हाइड्रो डेभलपर्स, चन्द्रागिरि हिल्स, समृद्धि फाइनान्स र एनआइसी एसिया ब्यालेन्स फण्डको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ।
नेपाल हाइड्रोको मूल्य ३०२, चन्द्रागिरिको २६९ र समृद्धि फाइनान्सको मूल्य २३६ रुपैयाँ कायम भएको छ।
यस दिन समग्र परिसूचक नेप्से जम्मा ३.६६ अंकले बढेको हो। सो अंकको वृद्धिपछि परिसूचक २६४० अंकमा कायम भएको छ। यद्यपि यो अंक हालसम्मकै उच्च हो। ८ अर्ब ८३ करोड रुपैयाँको सेयर किनबेच भयो।
समूहगत रुपमा हेर्दा यस दिन जलविद्युत सबैभन्दा धेरै ८३ अंकले बढेको छ। सोबाहेक ब्यापार १६, होटल १२, विकास बैंक २९, उत्पादन ४ र अन्य समूह ३९ अंकले बढे।
बैंकिङ समूह ७ अंकले घट्यो। फाइनान्स ४, निर्जीवन बीमा ८३, माइक्रोफाइनान्स ४५ र जीवन बीमा ३६१ अंकले घटेका छन्।
कारोबार रकमका आधारमा नेपाल बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ६१ करोड रुपैयाँ बराबरको सेयर किनबेच हुँदा दोस्रोमा निफ्रा रह्यो।
उसको ५३ करोड रुपैयाँको सेयर कारोबार भयो। ग्लोबल आइएमई, एनआइसी एसिया बैंक पनि कारोबारका आधारमा अगाडि रहे।
बेस्ट फाइनान्सको मूल्य सबैभन्दा धेरै ३.३ प्रतिशतले घटेको छ।