Home स्वास्थ्य सधैं प्रयोग हुने अत्यन्तै हानिकारक पाँच सेता खाद्य पदार्थ

सधैं प्रयोग हुने अत्यन्तै हानिकारक पाँच सेता खाद्य पदार्थ

by अर्थन्यूज

व्यस्त जीवनशैलीका साथै स्वाद र बनावटले गर्दा आजकाल बजारमा प्रशोधन गरिएका खानेकुराको माग बढ्दो छ। मुख्यतया: हाम्रो शरीरलाई असर गर्ने भनेको पञ्च श्वेत खाद्य अर्थात् पाँच सेता खानेकुरा हुन्, जसको बारेमा यहाँ चर्चा गरिएको छ।

पञ्च श्वेत खाद्ध भन्नाले ती खाद्ध हुन्, जसले हाम्रो शरीरलाई नराम्रो असर पारिरहेका हुन्छन्। प्रशोधन गरिएको अर्थात् सेतो चामल, मैदा, चिनी, नुन र पास्चराइज गरिएको दूध। यी पाँच सेता खानेकुरा हामी दैनिक रुपमा भान्सामा समावेश गरिरहेका हुन्छौं। 

सेतो चामल
के तपाईंलाई थाहा छ, दैनिक रुपमा प्रयोग गर्ने सेतो चामलले हामीलाई रोगको नजिक पुर्‍याइरहेको छ? सेतो चामल प्रशोधित चामल हो जसमा पोषणको मात्रामा स्टार्चबाहेक अरु केही हुँदैन। यो स्टार्च यस्तो प्रकारको खाद्ध हो जुन पाचन प्रकियामा छिट्टै जान्छ र रगतमा ग्लुकोजको मात्रालाई बढाउँछ। यस्तो चामलको सेवनले छिटो भोक लाग्ने हुन्छ। भोक लागेपछि हामी छिटोछिटो केही न केही खाइरहेका हुन्छौं। जसले हाम्रो शरीरमा गएर इन्सुलिनको मात्रलाई अत्यधिक रुपमा बढाइदिन्छ र भविष्यमा मोटपना र अन्य दीर्घकालीन रोगहरुको सिकार बनाउँछ। त्यसैले यसको सट्टामा सम्पूर्ण अन्न नै रोज्ने गरौं, जस्तै: खैरो चामल वा प्रशोधन नगरिएको चामल।

मैदा (सेतो पिठो)
मैदा यस्तो खाद्यान्न हो जसलाई हामीले दैनिक रुपमा उपयोग गरिराखेका हुन्छौं। मैदालाई प्रशोधन गरेर बनाइएको हुन्छ। यसलाई सेतो बनाउनका लागि ओलोक्सन एक रसायनिक ब्लिचिंग एजेन्टको प्रयोग गरिन्छ जुन हाम्रो शरीरको लागि हानिकारक छ।

सबैले अनुभव गरेकै कुरा हो, जब मैदाबाट बनेका खानेकुरा खाइन्छ, पेटमा केही न केही समस्या उत्पन्न हुन्छ। मैदाबाट बनेका परिकार म:म, चाउमिन, बिस्कुट र बेकरीले शरीरमा भएको इन्सुलिन भन्ने हर्मोन निक्लने बेटा सेललाई नोक्सान पुर्‍याउँछ, जसले गर्दा भविष्यमा मधुमेह र अन्य दीर्घरोगको शिकार बनाउँछ।

चिनी
चिनी एक यस्तो खाद्य वस्तु हो, जुन बिहान उठ्ने बित्तिकैदेखि प्रयोग हुन थाल्छ। हाम्रो पेट बेलुकी खाना खाएपछि बिहान उठ्ने समयसम्म खाली भइसकेको हुन्छ। खाली पेटमा एकाबिहानै दूध र चिनी हालेको चिया र मैदाबाट बनेका खानेकुरा खाने गरिन्छ, जुन रोगको घर हो। चिनीमा क्यालोरी पनि धेरै हुन्छ र पोषण पनि नहुने भएको हुनाले यसलाई खाली क्यालोरी पनि भनिन्छ। चिनीको सेवनले शरीरलाई केही फाइदा हुँदैन। शरीरको तौल बढाउने र विभिन्न रोग उत्पादन गर्ने काम मात्र गर्छ चिनीले। त्यसैले प्रशोधन गरिएको चिनी कुनै खानेकुरामा समावेश नगर्दा राम्रो हुन्छ। 

नुन
नुन शरीरको लागि आवश्यक त छ तर थोरै मात्रामा। यदि धेरै मात्रामा नुन सेवन गरियो भने शरीरलाई नुनीकरण गर्नका लागि शरीरमा भएको पानीको मात्रा उपयोग हुन जान्छ र रगतको चापलाई बढाइदिन्छ जसले गर्दा मानिस उच्च रक्तचापको सिकार हुन पुग्छ।

हामी दैनिक प्रशोधन गरिएको नुन प्रयोग गरिराखेका हुन्छौं। नुन प्रशोधन गर्ने क्रममा फ्लोराइडको प्रयोग गरिएको हुन्छ जसले शरीरलाई नराम्रो असर गर्छ। अर्को कुरा, हामी आयोडिन हालिएको नुन प्रयोग गर्छौं। यसले फाइदा त पुर्‍याउँछ तर के आयोडिन सामान्य तापक्रममा पनि बाफमा परिवर्तन हुन जान्छ र खाना बनाउने क्रममा उडेर जन्छ। त्यसैले आयोडिनको लागि नुनको सेवन गर्दा खानामा अन्त्यमा मात्र हाल्ने गरौं र कम मात्रामा प्रयोग गरौं। यदि नुन सेवन गर्नु नै छ भने सबैभन्दा उत्तम भनेको सिदे नुन अथवा वीरे नुन रोज्ने गरौं।

पास्चराइज गरिएको दूध
दूध भन्ने बित्तिकै कतिपयलाई शरीरको लागि महत्त्वपूर्ण चिज हो जस्तो लग्ला। दूध शरीरको लागि राम्रो त हो तर अन्न र हरियो घाँस खुवाएर पालिएका पशुबाट उत्पादन गरिएको छ भने मात्र। तर आजकलको आधुनिकीकरणले हाम्रो दैनिकीमा धेरै परिवर्तन ल्याएको छ जसले गर्दा बजारमा पाइने पास्चराइज गरिएको दूध प्रयोग गरिरहेका छौं। यस्तो दूधले शरीरलाई फाइदा गर्नुको साटो बेफाइदा गरिरहेको छ।

पास्चराइज गरिएको दूध लामो समयसम्म त बिग्रिँदैन तर यो पद्दतिमा दूधमा पाइने पोषक तत्व जस्तै: भिटामिन ए, बि१२ र सी नष्ट भएर जान्छ। त्यसैगरी यसले हाम्रो शरीरलाई चाहिने शुद्ध दूधमा पाइने ब्याक्टेरिया पनि नष्ट गर्छ। दूध हामीले क्याल्सियमको परिपूर्तिका लागि खाइरहेका हुन्छौं तर पास्चराइज गर्ने क्रममा क्याल्सियम हाम्रो शरीरमा अवशोषण गर्नको लागि चाहिने फास्फेट इन्जाइमलाई नष्ट गरिदिन्छ र शरीरमा क्याल्सियमको कमी देखा पर्न जान्छ।

अझ महत्वपूर्ण कुरा, आजकल पशु फार्महरुमा दूधको उत्पादन बढाउनका लागि विभिन्न थरीका हर्मोन र भिटमिनको प्रयोग गरिन्छ। हामीले दूधसँगै ती हर्मोनहरु पनि खाइरहेका हुन्छौं। यस्ता हर्मोनहरुले शरीरमा नकारात्मक असर गरिरहेको हुन्छ। त्यसैले सकेसम्म कुनै हर्मोन प्रयोग नगरिएको दूध सेवन गरौं।

डा सुधाश्री अधिकारि – स्वास्थ्य खबर बाट

(डा अधिकारी पोषण वैज्ञानिक हुन्।) 

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More