Home पर्यटन आन्तरिक पर्यटकले उकासिँदै पोखराको पर्यटन क्षेत्र

आन्तरिक पर्यटकले उकासिँदै पोखराको पर्यटन क्षेत्र

by अर्थन्यूज

पोखरामा आन्तरिक पर्यटक आगमन बढेको छ । कोभिड महामारीका कारण लामो समय ठप्प पोखराको पर्यटन क्षेत्र आन्तरिक पर्यटक आगमन बढेसँगै उकासिन थालेको छ ।पोखरामा विदेशी पर्यटक खासै नभए पनि आन्तरिक पर्यटकको भने आकर्षण बढेको पर्यटन व्यवसायी बताउँछन् । पोखरा बजार तथा आसपासका ग्रामीण पर्यटकीय स्थलमा पनि पर्यटक बढेका छन् ।विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिडका कारण लामो समय घरभित्र बन्द पर्यटक त्रास कम भएपछि घुमफिरमा समय दिन थालेका छन् । साथै कोरोना खोप लगाउन शुरू भएसँगै भ्रमणको गन्तव्य पोखरा बनाउनेहरू पनि बढ्नाले आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।देशका पूर्वमेचीबाट महाकालीसम्मका जिल्लाबाट शैक्षिक, बैंक तथा वित्तीय संस्था, सहकारीलगायतले पोखरालाई भ्रमण कार्यक्रम बनाएपछि यहाँ आन्तरिक पर्यटक बढेका हुन् ।

दशैंपछि पोखरामा पर्यटक बढ्न शुरु भएको र अहिले आन्तरिक पर्यटकको चहलपहल बढेको पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष चिरञ्जीवी पोखेरललाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ । केही तेस्रो मुलक तथा छिमेकी भारतका पर्यटकसमेत अहिले पोखरामा छन् ।विगत वर्षमा मुख्य पर्यटकीय मौसममा विदेशी पर्यटक भरिभराउ हुने गरे पनि यस वर्ष आन्तरिक पर्यटकले मात्र ठूूलो राहत मिलेको पर्यटन व्यवसायीको भनाइ छ । अझै केही समय बाह्य पर्यटक आवागमन सहज नभएकाले आन्तरिक पर्यटनलाई लक्ष्य गरी छुटलगायत सुविधा व्यवसायीले प्रदान गरेका छन् ।
पोखरासँगै आपसपासका काहुँडाडाँ, सराङकोट, धम्पुस, घान्द्रुक, अस्तामलगायत क्षेत्रमा पर्यटकको चहलपहल बढेको सम्बन्धित क्षेत्रका व्यवसायीको भनाइ छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More