काठमाडौं – नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी) बैंकले लिलामी प्रकृयाबाट विक्री गरेको २५ लाख कित्ता संस्थापक शेयर बाँडफाँट गरेको छ । कम्पनीले फागुन २ गतदेखि ९ गतेसम्म उक्त शेयर खरीदका लागि गोप्य शिलबन्दी बोलपत्र आव्हान गरेको शेयर फागुन १४ गते बाँडफाँट गरेको हो ।
कम्पनीका अनुसार रितपूर्वक आवेदन दिने आवेदकहरुमध्यबाट प्रतिकित्ता रू. ३१५ दशमलव ५० देखि रू. १४२ सम्म मूल्य अंकित गरी बोलकबोल गर्ने १०४ जनालाई माग बमोजिम र प्रतिकित्ता रू. १४१ दशमलव ५० का दरले माग गर्ने १ जनालाई आंशिक गरी विक्रीको आव्हान गरेको सबै शेयर बाँडफाँट गरिएको हो ।
बैंकले उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर रू. १४० तोकेको थियो । यो शेयर खरीदका लागि न्यूतमम १ एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो ।
उक्त बाँडफाँटमा नपरेको आवेदकहरुको रकम फागुन १७ गतेदेखि आईपीएसमार्फत आवेदकहरुले उल्लेख गरेको बैंक खातामै भुक्तानी गरिने समेत कम्पनीले जानकारी दिएको छ । कम्पनीको विक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।