Home समाज पशुपतिनाथमा सुनको जलहरी राख्ने विषयमा विवाद एवं मुद्दा चलिरहँदा पित्तल प्रयोग गरिने निर्णय

पशुपतिनाथमा सुनको जलहरी राख्ने विषयमा विवाद एवं मुद्दा चलिरहँदा पित्तल प्रयोग गरिने निर्णय

by अर्थन्यूज

काठमाडौँ – म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वरको शिवालय मन्दिरको छाना परिवर्तन गरिने भएको छ । हाल सिमेन्टको छानो रहेको गलेश्वरको मन्दिरमा पित्तलको छानो हालिने भएको हो ।

शनिबार सम्पन्न ‘गलेश्वर शिवालय क्षेत्र विकास कोष’को १५औं कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय गरेको छ । मन्दिरको छाना छाउन कोषका आजीवन सदस्य रमेश शर्माले साधारणसभामा रु. ५ लाख ५५ हजार ५ सय ५५ आर्थिक सहयोग गर्ने घोषणा गरे । कोषका सदस्यसचिव माधवप्रसाद रेग्मीले बाँकी रकम कोषको आन्तिरक स्रोतबाट जुटाइने बताए । पित्तलको छाना राख्न रु २५ लाख लागत अनुमान गरिएको छ । शर्माका बुवा राधाकृष्ण पराजुलीले विसं २०५५ मा रु. २० लाख खर्चेर निर्माण गरेको गलेश्वरको मन्दिर तिर्थस्थलभित्र अवस्थित छ ।  

हिन्दू तथा बौद्घ धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्धारका रूपमा गलेश्वर मन्दिर परिचित छ । कालीगण्डकी नदी किनारमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित मन्दिर हो गलेश्वर शिवालय मन्दिर जसलाई म्याग्दीकै प्रमुख धार्मिकस्थल मानिन्छ । हिन्दू धर्मगन्थ्रमाका अनुसार गलेश्वर सतिदेवीको गला पतन भएको स्थान हो । सतिदेवीको गला पतन भएकै कारण त्यस ठाउँलाई गलेश्वर भन्न थालिएको किंवदन्ती पाइन्छ । साउन महिनाको हरेक सोमबार, बालाचतुर्दशी र महाशिवरात्रिको पर्वमा मेला लाग्ने गलेश्वरमा राजधानीको पशुपतिनाथमा जस्तै दैनिक पूजाआजा हुने गर्छ। गलेश्वरमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहँदै आएको छ ।

पण्डित भीमनाथ पराजुलीका अनुसार स्थानीयहरू बाहेक म्याग्दी आइपुगेका आन्तरिक र बाह्य दुवै थरी पर्यटकहरू गलेश्वरको शिवालय मन्दिर दर्शन गरेरै मात्र अघि बढ्छन् । हालसम्म सिमेन्टको छानो रहँदै आएको उक्त मन्दिरमा अब भने पित्तलको छानो राखिने भएको हो । पण्डित पराजुलीका अनुसार शिवलाई ध्यानी, जोगी देवताको रूपमा लिइने हुँदा विलासिता जनाउने द्रव्य भएका कारण सुनको प्रयोग शिव मन्दिरमा गर्न उचित नहुने धार्मिक मान्यता भएका कारण छानो पित्तलको बनाइने निर्णय गरिएको हो ।

सभामा गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनले पुस मसान्तसम्म गत वर्षको समेत गरी रु. २ करोड ८६ लाख २० हजार ७ सय २८ आम्दानी र रु. १९ लाख ६७ हजार ८ सय १४ खर्च भएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषको कुल बचत रु. २ करोड ६६ लाख ५२ हजार ९ सय १३ बचत रहेको उनले बताएका छन् । 

राजधानी काठमाडौँस्थित पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने विषयमा विवाद एवं मुद्दा चलिरहँदा म्याग्दीको गलेश्वर शिवालयमा भने पित्तल प्रयोग गरिने निर्णय भएको हो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More