पेचिङ (चीन) । यस वर्ष चीनले ६ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ । गत वर्ष कोरोना भाइरसको महामारीबीच चीनले वृद्धि लक्ष्य त्यागेको थियो । तर शुक्रवार भने त्यहाँको संसदको अधिवेशनमा बोल्ने क्रममा प्रधानमन्त्री लि खछ्याङले यसबारे बताएका हुन् ।
गत वर्ष भने महामारीबीच विश्वका सबैजसो अर्थतन्त्र ओरालो लाग्दा चीनको अर्थतन्त्र २ दशमलव ३ प्रतिशतले बढेको थियो । यस वर्ष भने ६ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य सरकारको रहेको लिले बताए ।
अर्थतन्त्र ८ देखि ९ प्रतिशतले बढ्ने अपेक्षा गरिएको भएपनि पछिल्लो लक्ष्य सबैभन्दा तल्लो तहबाट लिइएको हङकङमा फाइडेलिटी इन्टरनेशनलका लगानी निर्देशक क्याथरिन यूउङ बताउँछिन् ।
अधिकांश ध्यान सरकारले वृद्धिको संख्याभन्दा पनि स्तरमा लगाउको उनको भनाइ छ । सन् २०२१ मा शहरी क्षेत्रमा थप १ करोड १० लाख रोजगारी सृजना गर्ने लक्ष्य समेत चीनको रहेको लिले संसदमा बताए । एजेन्सी