Home आईपीओ निफ्राको शेयरले कर्णालीमा धेरैकाे पुराना लुगा फेरियो

निफ्राको शेयरले कर्णालीमा धेरैकाे पुराना लुगा फेरियो

by अर्थन्यूज

प्राथमिक शेयर भर्न ७७ वटा जिल्लाबाट सहज भएपनि शेयर बिक्री गर्न अझै सजिलो भइसकेको छैन। पाहाडी दुर्गम जिल्लामा त अझै शेयर बिक्री गर्न मुस्किल नै छ। त्यस माथि विकासमा निक्कै पछाडि परेकाे कर्णाली प्रदेशमा चार वर्ष अघिसम्म शेयर बिक्री गर्ने एउटै ब्रोकर कम्पनी थिएनन्।

तर गएको तीन वर्ष यता भने कर्णाली प्रदेशबाट पनि शेयर खरिद बिक्री गर्न सकिन्छ। काठमाडौँ अनामनगर हनुमानथान स्थित  इम्पेरियल सेक्युरिटिज (ब्रोकर नम्बर ४५)ले त्यहाँबाट शेयर बेच्न सजिलो बनाएको हो।  सेक्युरिटिजले सुर्खेतमा शाखा बिस्तार गरेपछि कर्णाली प्रदेशबाट पनि यति बेला शेयर किनबेच गर्न सकिने भएको हो।  

सुरुवाती दिनमा नगण्य कारोबार गराउँदै अघि बढेको सेक्युरुटिजले अहिले भने नाफा गर्न थालेको छ। सुर्खेत शाखामा हिजो-आज एक करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबार हुन्छ। जबकि दुई वर्ष अघि त्यहाँ दैनिक १० लाखको कारोबार पुर्याउनलाइ पनि हम्मे हम्मे पर्ने गरेको थियो। कर्णाली प्रदेशमा यति बेला शेयरको लहर नै चलेको छ। हरेक दिन हजारौँ मानिस  प्राथमिक बजारमा प्रवेश गरिरहेका छन् भने त्यसको २० प्रतिशत मानिस दोस्रो बजारमा जोडिन थालेको अनुमान गरिएको छ। शेयर बजारमा यति धेरै मानिसको आकर्षण हुनुमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरले बढी भूमिका निर्वाह गरेकाे छ। उसले छोटो समयमै पर्याप्त नाफा दिएपछि कर्णाली प्रदेशमा यति बेला शेयरको लहर नै आएको हो। “यस अघि प्रदेशमा यतिका मानिसको शेयरमा आकर्षण कहिल्यै देखिएको थिएन। तर निफ्राले छोटो समयमै सबैलाई नाफा दिएपछि कर्णाली प्रदेशमा यति बेला शेयरको लहर नै चलेको छ भन्दा फरक नपर्ला” इम्पेरियल सेक्युरिटिजका सुर्खेत शाखा प्रमुख सेचन बज्राचार्यले मेरो लगानीसँग भने।

निफ्राको शेयरले सर्बसाधारणलाई छोटो समयमै पर्याप्त नाफा मात्रै दिएन उसले प्रदेशमा हुँदै आएको दोस्रो बजारको कारोबारलाई पनि ह्वात्तै बढाइदिएको छ। निफ्राकै शेयर बेच्न दैनिक मानिस सेक्युरिटीजको शाखासम्म आउन थालेका छन्। उनीहरू आएकै कारण कम्पनीको दैनिक कारोबार समेत बढ्दै गएको हो।

बज्राचार्य भन्छन् “कम्पनीको नाफा त आफ्नो ठाँउमा छँदै छ तर त्यो भन्दा पनि शेयर बेचेर नाफा रकम हात पार्दा गाउँलेहरूको मुहारमा देखिएको खुसीले अर्कै आनन्द दिन्छ। गत माघ दुई गतेदेखि निफ्राको शेयर खुलेको हो। कर्णाली प्रदेशबाट पनि धेरै मानिसले शेयर भरेका रहेछन्। शेयर खुलेको एक महिनामै दोस्रो बजारमा यसको कारोबार सुरु भयो। गत फागुन दुईदेखि खुलेको कारोबारमा कम्पनीले राम्रो मूल्य पाएको छ। कसैको हात खाली नहुने गरी शेयर बाँडिएको हुँदा भर्ने जति सबैको हातमा शेयर छ। एकै परिवारमा बस्ने १० देखि १५ जना सम्मको हातमा शेयर पर्दा गाउँलेहरू महिना दिनमै लखपति भएका छन्।सबै परिवारकाे नाममा परेको शेयर बेच्न दैनिक सयौँ मानिसहरू सदरमुकाम आउन थालेका छन्। किनकी कर्णाली प्रदेशमा शेयर बिक्री गर्न सकिने सुबिधा हामीले मात्रै दिएका छौ। त्यसले गर्दा पनि प्रदेश भरिकै मानिसहरू सुर्खेतसम्म आउन थालेका हुन्।

गाउँ गाउँबाट मानिसहरू पहिले पहिले भोट हिँडेको जस्तै गरी लर्को लागेर आउँछन्। कोही कोही गाउँ र वडाका सबै एकै दिन पारेर हुल बाँधिएर शेयर बिक्री गर्न आउँछन्। जब शेयर बिक्री गरेर उनीहरूको हातमा पैसा पर्छ त्यति बेला उनीहरूको मुहारमा एक किसिमको खुसी झल्किन्छ। मुसुक्क मुस्कुराउँदै जब उनीहरू फर्किन्छन् त्यति बेला हामी बेग्लै अनुभूति गर्छौ,” बज्राचार्य भन्छन् ।

शेयर बिक्री गरेर गाउँलेहरू खुसी देखिए पनि त्यस अघि उनीहरूले भने निक्कै सास्ती व्यहोर्नु पर्छ। शेयर बिक्री गर्नकै लागि पाउने दुख:को पहाड पनि बेग्लै छ। कर्णाली प्रदेशमा हुम्ला,मुगु, दैलेख, जुम्ला, कालिकोट,जाजरकोट, रुकुम, डोल्पा लगायतका जिल्ला पर्छन्। जाजरकोट र दैलेखबाट सदरमुकाम सुर्खेत आउन थोरै समय लागे पनि मुगु, जुम्ला, हुम्ला र डोल्पाबाट भने आउन निक्कै कठिन हुने गरेको छ। ती जिल्लाका मानिसहरूको हातमा पनि निफ्रा लगायतका कम्पनीको शेयर छ। उनीहरूले ती शेयर बेच्न निक्कै दिनको पैदल यात्रा गर्नु पर्छ। बास बस्दै आउनु पर्ने भएकोले पनि उनीहरूलाई वडा र गाउँलेको टोली नै बनाएर आउने पर्ने बाध्यता परेको हो।

धेरैले परिवारकै नाममा शेयर भरेका छन्। बेच्न आउँदा सबैको शेयर बोकेर अभिभावक आउँछन्। तर सबैको शेयर कारोबार गर्ने युजर नेम र पासवर्ड लिइएको हुँदैन। आफ्नो मात्रै शेयर बिक्री गरेर फर्किन्छन्। छोरा छोरी शेयर बिक्री गर्न नपाउँदा निराश हुने गर्छन्। तर ब्रोकर कार्यालयले परिवारका सबै सदस्य लिएर आउन आग्रह गर्ने गरेको बज्राचार्यले बताए।

“गाउँबाट सबै परिवारको शेयर बेच्ने योजना सहित अभिभावक आउँछन्। तर सबैको शेयर बिक्री गर्न सकिने अवस्था हुँदैन। किनकि त्यसको लागि सबैको युजर नेम र पासवर्ड चाहिन्छ। त्यसो नहुँदा एक पटक सदरमुकाम घुमाउने गरी परिवारका सबै सदस्यलाई लिएर आउनुहोस् भनेर सल्लाह दिने गरेको छु। सल्लाह अनुसार उहाँहरूले सबै परिवारका सदस्य सहित आउनु हुन्छ। शेयर बिक्री गरेर जानु हुन्छ। सुरुमा आउँदा धेरैले हैरान भइयो भनेर पीडा व्यक्त गर्नु हुन्छ। तर जब उहाँहरु शेयर बिक्री गरेर पैसा लिनु हुन्छ। त्यसपछि भने शेयर बिक्री गर्न आउँदाका पीडा सबैले बिर्सनु हुन्छ। अनि खुसी नै भएर जानु हुन्छ ” बज्राचार्यले भने।

शेयर बिक्री गरेको रकमले गाउँलेले सदरमुकामबाट किनमेल गरेर फर्किने गर्छन्। कसैले छोटो समयमै भएको आम्दानीले गर्जो टारिरहेका छन्। निफ्राको शेयरले गाउँका धेरै मानिसको पुराना लुगा फेरि दिएको छ। कसैको गोठमा नयाँ याक चौरी थपिदिएको छ। कसैले साहुको ऋण तिरेका छन् भने कसैले नयाँ व्यवसाय समेत सुरु गरेको बज्राचार्यले बताए।”शेयर बिक्री गरेको रकमले गाउँ र परिवारमा आर्थिक उन्नति नै गरिदिएको छ। कसैले परिवारलाई नै सदरमुकामबाट नयाँ लत्ता कपडा लिएर जानु हुन्छ। कसैले यहीँबाट याक चौरीको बैना गर्नु हुन्छ। कसैले  साहुको ऋण समेत तिरेको सुनाउँदा आनन्द लाग्छ” बज्राचार्यले भने।

पब्लिक शेयरले गाउँमा रहेको पैसालाई सदरमुकाम ल्याएको छ भने कम्पनीले नाफा गरेको र दोस्रो बजारबाट भएको नाफा बापत फेरि गाउँमै फर्किएको रकमले आर्थिक गतिविधि चलायमान गराएको छ। राम्रो कम्पनीले पब्लिकलाई शेयर धनी बनाउँदा त्यसको सकारात्मक चेन इफेक्ट कतिसम्म पर्छ भन्ने कुरा यति बेला कर्णाली प्रदेशले पुष्टि गरिरहेको बज्राचार्यको भनाइ छ।  

निफ्राको शेयर बेचर आएको नाफाले त धेरैलाई खुशी नै बनाएको छ। तर अरू कम्पनीको १० कित्ता परेको शेयर बेच्दा भने उनीहरूले हालेको रकम भन्दा बढी खर्च गर्नु पर्ने अवस्था छ। त्यसले गर्दा पनि दुर्गम पाहाडी जिल्लामा शेयर पर्नु ठुलो कुरा नभए पनि  बिक्री गर्दा चाँही निक्कै ठुलो सास्ती हुने गरेको छ।    

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More