Home ऊर्जा ४२ मेवा क्षमताको मिस्ट्री खोला जलविद्युत् आयोजनाले भोलिदेखि परीक्षण उत्पादन गर्ने

४२ मेवा क्षमताको मिस्ट्री खोला जलविद्युत् आयोजनाले भोलिदेखि परीक्षण उत्पादन गर्ने

by अर्थन्यूज

म्याग्दी । बहुप्रतिक्षित जलविद्युत् आयोजना मानिएको म्याग्दीको अन्नपुर्ण गाउँपालिका– ४ नारच्याङमा अवस्थित  ४२ मेगावाट(मेवा) क्षमताको मिस्ट्री खोला जलविद्युत् आयोजनाले शुक्रवारदेखि परीक्षण उत्पादन गर्ने भएको छ । 

माउन्टेन इनर्जी कम्पनी प्रालिले हालै मात्र निर्माण सम्पन्न गरेकोे उक्त आयोजनाको अहिले उपकरण परीक्षण भइरहेको निर्माण कम्पनीले बताएको छ ।
कन्स्ट्रक्सन म्यानेजर चुडामणि निरौलाका अनुसार अहिले तीन ओटै युनिटको परीक्षण (ड्राइ टेस्ट) भइरहेको छ ।  पहिलो युनिटको ९९ प्रतिशत, दोस्रोको ९० प्रतिशत र तेस्रोको ८० प्रतिशत परीक्षण पूरा भएको उनले जानकारी दिए । 

उनका अनुसार फागुन १६ गते देखि परीक्षण उत्पादन गर्ने कम्पनीको तालिका रहेको भएपनि केही प्राविधिक र कानूनी प्रक्रियाहरु पूरा भइनसकेकाले समय लम्बिएको हो ।

‘उपकरणहरूको परीक्षण पूरा भएपछि शुक्रवारदेखि परीक्षण उत्पादन शुरु गर्ने लक्ष्य छ,’ उनले भने, ‘करीब एक हप्तासम्म परीक्षण उत्पादन गरेपछि नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले निरिक्षण गरी व्यापारिक उत्पादनको मिति तोक्ने र प्रणालीमा जोडिनेछ ।’ १५ दिनसम्म परीक्षण उत्पादन गरेपछि चैत अन्तिम साताबाट व्यावसायिक उत्पादन शुरु गर्ने योजना छ । 

गत फागुन १६ गतेदेखि परीक्षण उत्पादन सुरु गर्ने तालिका रहे पनि प्रक्रिया पूरा भइनसकेकाले समय लम्बिएको कम्पनीले जानकारी दिएको छ ।उत्पादित विद्युत् २२० केभी कालीगण्डकी कोरिडोरको दाना सबस्टेसनमा जोडिनेछ ।

यो सबस्टेसनको काम पूरा भएपछि गत माघ २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयबाटै उद्घाटन गर्नु भएको थियो । सबस्टेसनसम्मको चार किलोमिटर प्रसारण लाइन प्रवद्र्धक आफैंले निर्माण गरेको छ ।

विसं २०७३ जेठ ३१ गतेदेखि निर्माण शुरु भएर निर्धारित लक्ष्यभन्दा निकै ढिलो पूरा भएको मिस्ट्री खोला आयोजना अहिलेसम्म निर्माण भएका निजी क्षेत्रका आयोजनाभन्दा निकै सस्तो मानिएको छ ।

प्राधिकरणले कालीगण्डकी कोरिडोरको दाना–कुस्मा खण्ड निर्माणमा ढिलाई गर्दा आयोजना पनि प्रभावित भएको थियो । प्रसारण लाइन निर्माणको ढिलाई, प्राकृतिक प्रकोप, कोरोना महामारी जस्ता घटना भए पनि आयोजना प्रतिमेवा करीब १४ करोड रुपैयाँमा पूरा भएको प्रवर्द्धक कम्पनीले बताएको छ ।

आयोजनामा भाटभटेनी समूह, आइएमई समूह, किया मोटर्स, सिटी मनी एक्सप्रेसलगायत व्यापारिक घरानाको लगानी छ ।

श्रोतः अभियान दैनिक

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More