Home फिचर नबिलसँगको मर्ज हल्लापछि नेपाल बंगलादेश बैंकको सेयर मूल्य बढ्यो १० प्रतिशत

नबिलसँगको मर्ज हल्लापछि नेपाल बंगलादेश बैंकको सेयर मूल्य बढ्यो १० प्रतिशत

by अर्थन्यूज

एनसिसीपछि नेपाल बंगलादेश बैंकसँग नबिल बैंकको मर्ज हल्ला चल्दा बिहीबार सेयर मूल्य प्रभावित भएको छ।

यस दिन सेयर बजारमा नेपाल बंगलादेशको मूल्य करिब १० प्रतिशत बढेको छ। बुधबार बजार बन्द हुँदा प्रतिकित्ता ३१८ रुपैयाँ मूल्य रहेकोमा बिहीबार ९‍‍‍ दशमलम ७५ प्रतिशतले बढेर  ३४९ रुपैयाँसम्म कारोबार भयो।

बजार बन्द हुँदा पनि ३४९ रुपैयाँ नै कायम रह्यो। कारोबारका आधारमा पनि यस दिन नेपाल बंगलादेश बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ७६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो। 

सेयर लगानीकर्ता पिताम्बर खरेलका अनुसार नबिलसँग  मर्जको हल्लाका कारण नेपाल बंगलादेश बैंकको मूल्य केही बेर उचालिएको हो। ‘मर्जका लागि कुरा चलेका समाचार बाहिरिए, जसले गर्दा यो बैंकको यस दिन बजारमा धेरै चर्चा चल्यो’ उनले भने। 

नबिल बैंकसँग बेलाबेलामा विभिन्न बैंकको मर्ज हल्ला चल्ने गरेको छ। यसअघि एनसिसी, सिद्धार्थ र मेगा बैंकसँग पनि मर्जको हल्ला चल्दा ती कम्पनीको मूल्य प्रभावित भएको थियो। 

सिद्धार्थ र एनसिसी दुवै बैंकले हल्लामा कुनै सत्यता नरहेको भनी प्रष्टिकरण दिएपछि सेयर मूल्य सामान्य अवस्थामा फर्किएको थियो। 

मर्ज हुँदा थोरै मूल्य भएका कम्पनीका सेयरधनीलाई केही फाइदा हुने गरेका तथ्य विगतमा देखिँदै आएको छ। ग्लोबल आइएमइमा साविकको जनता बैंक गाभिँदा पनि यो तथ्य पुष्टि भएको छ। 

यद्यपि दुई बैंकबीच मर्ज हुँदा स्वाप रेसियो कति निर्धारण हुन्छ भन्ने कुरा महत्वपूर्ण हो।  अर्कोसँग गाभिने बैंकले राम्रै मूल्य पाउने गरेका उदाहरण छन्। यसले गर्दा गाभिने बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढ्ने गरेको हो। 

नबिल बैंकले उपयुक्त पार्टनर भेटिएमा मर्जका लागि बाटो खुला गरेको छ।

नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ भएकालाई मर्जका लागि दवाव दिएको छ। अर्थात् एकाघर परिवार वा संस्थाको निश्चित लगानी भएका बैंक तथा वित्तीय संस्थालाई मर्ज वा एक्वीजिसनका लागि बाध्य पारिने व्यवस्था मौद्रिक नीतिमा छ। यो व्यवस्थाअनुरुप नबिलले कुनै वाणिज्य बैंकलाई मर्ज गर्नैपर्ने बाध्यता छैन। 

हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच भने पारिवारिक सम्वन्ध पनि भएकाले मर्जका लागि दुवै बैंक सहमति नजिक पुगेका छन्। 
 

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More