Home पर्यटन पर्यटन पुनरुत्थानका लागि नयाँ मापदण्ड जारी

पर्यटन पुनरुत्थानका लागि नयाँ मापदण्ड जारी

by अर्थन्यूज

सरकारले वाह्य पर्यटक आवागमनलाई व्यवस्थित गर्दै पर्यटक आगमन बढाउन नयाँ मापदण्ड जारी गरेको छ । कोभिड–१९ का प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीवार ‘पर्यटक आवागमनलाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड–२०७७’ जारी गरेको हो ।

यससँगैे विदेशी पर्यटकको सम्बन्धमा लागू भएका यसअघिका मापदण्ड एवं अनिवार्य क्वारेन्टिन लगायत व्यवस्था खारेज गरिएको छ । नयाँ मापदण्ड आज (शुक्रवार)देखि नै लागू हुने मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिएका छन् ।

मन्त्रालयले यसअघि मापदण्ड जारी गर्दै नेपाल प्रवेशसँगै पर्यटकले न्यूनतम ७ दिन होटेल क्वारेन्टिन बस्नुपर्ने र पाँचौं दिनमा पीसीआर परीक्षण गरी कोरोना नेगेटिभ आएमा मात्रै पदयात्रा तथा पर्वतारोहणमा जान सक्ने व्यवस्था गरेको थियो ।

क्वारेन्टिनको व्यवस्था खारेज गरिए पनि पर्यटकले नेपाल आउन ७२ घण्टा अघिको पीसीआर नेगेटिभ रिपोर्ट वा कोभिड विरुद्धको खोपको मात्रा पूरा गरेको डकुमेन्ट पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

उक्त मापदण्डअनुसार विदेशी पर्यटकले नेपाल आउन प्राप्त गरेको भिसा वा नेपालको पर्यटकीय गतिविधिमा सहभागी हुने पर्यटन विभाग वा नेपाल पर्यटन बोर्टको सिफारिशको कागजात, होटेल बुकिङ गरेको वा बसोवास सुनिश्चित भएको प्रमाण, आपत्कालीन खोज, उद्धार, उपचारलगायत विषय समेटिएको नेपाल यात्रा आवधिभरका लागि मान्य हुनेगरी गरिएको यात्रा बीमाको कागजात सम्बन्धित एयरलाइन्सको चेकइन काउन्टरमा देखाउनुपर्नेछ ।

नयाँ व्यवस्थाअनुसार विदेशी पर्यटकलाई गन्तव्यमा लैजाने सम्बन्धित संस्था वा एजेन्सीहरूले पर्यटकको साथमा जाने नेपाली सहयोगी वा नेपाली सदस्यहरूको कम्तीमा १ लाख रुपैयाँ बराबरको कोरोना बीमा गर्नुपर्नेछ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More